सुनसरी : मर्मत सम्भारको भुक्तानी मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको दुई लाख रुपियाँ घुससहित पक्राउ परेका मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घुससहित पक्राउ परेका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ढकाललाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
लेखा अधिकृत ढकालले गरेको कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारको दाबी छ ।
उनीउपर दुई लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय माग गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।