डुम्रे: तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ। विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दीपुर-४ स्थित सिद्धगुफाभित्र कार्यपालिका बैठक गरिएको हो।
सिद्धगुफाको प्रचारप्रसार र पर्यटन दिवसका अवसर पारेर गुफाभित्रै बैठक बसेर विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। उक्त बैठकले आगामी माघ १९ गते सिद्धगुफा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्धगुफा समुद्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्दछ।