Monday, January 13, 2025
समाजक्रिकेट अर्थतन्त्र : विश्वकप छनौट खेलले भित्रियो ३ लाख डलर

क्रिकेट अर्थतन्त्र : विश्वकप छनौट खेलले भित्रियो ३ लाख डलर

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को आयोजनामा पाँच दिनदेखि आइसिसी टि–ट्वान्टी विश्वकपअन्तर्गत एसिया क्षेत्रबाट छनौटका लागि फाइनल खेल भइरहेको छ। जारी क्रिकेट खेलमा नेपालसहित ८ देशको सहभागिता छ।
Nabil Bank

कात्तिक १३ बाट सुरु भएको खेल १९ सम्म चल्ने छ। खेलमा सहभागी हुन नेपालसहित ८ देशका खेलाडी मैदानमा छन्। खेल खेल्नकै लागि ७ देशका खेलाडी नेपालमा आएका छन्। एउटा टिममा १५ खेलाडी छन्। खेलाडीसहित प्रशिक्षक र अन्य सहयोगी गरेर २० देखि २३ जनाको टिम नेपाल आएको छ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदमबहादुर खड्काले जारी खेलका खेलाडीको सम्पूर्ण खर्च आइसिसीले नै बेहोरेको बताए। विदेशबाट आउने र नेपालमा रहेका खेलाडीको बसाइको सम्पूर्ण खर्च आइसिसीले नै बेहोर्ने उनको भनाइ छ।

विश्वकप छनौटका लागि आइसिसीले संघलाई ३ लाख अमेरिकी डलर दिने छ। बिहीबारको डलर मूल्यअनुसार एक डलरबराबर १ सय ३२ रुपैयाँ ६४ पैसा छ। यसरी हेर्दा ३ करोड ९७ लाख ९२ हजार रुपैयाँ हुन्छ। कोषाध्यक्ष खड्काका अनुसार खेलाडीलाई राख्ने होटल छनौटदेखि सम्पूर्ण व्यवस्था आइसिसीले नै गरेको छ।

खेलका लागि राखिएको प्रायोजनको सम्पूर्ण रकम भने क्रिकेट संघले नै पाउने छ। कतिको प्रायोजन आयो भन्ने यकिन भने भइनसकेको कोषाध्यक्ष खड्काले जानकारी दिए। खेल १९ गतेसम्म रहेकाले अहिले नै प्रायोजनवापत रकम कति उठ्यो र कति खर्च भयो भन्ने हिसाब आउन केही समय लाग्ने उनले बताए।

यसरी हेर्दा खेलमार्फत अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रचारमात्र भएको छैन, डलर आम्दानीसमेत भएको देखिन्छ। मुलुक आर्थिक संकटमा परेर अर्थतन्त्र नै चलायमान नभइरहेका बेला विश्वकप क्रिकेट छनौट खेल नेपालमा हुनु र ३ लाख अमेरिकी डलर भित्रिनुलाई सकारात्मक लिनुपर्छ।

होटलमा बस्दा र खाँदा हुने खर्च आयोजकले बेहोरे पनि बाहिर खाने खर्च खेलाडी स्वयंले तिर्नेछन्। जसका कारण ३ लाख डलरमात्र नभई उनीहरूले गर्ने व्यक्तिगत खर्चसमेत भित्रिएको छ।

हाल त्रिभुवन विश्वविद्यालयस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा छनौट प्रक्रियाको खेल भइरहेका छन्। छनौटका लागि समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन्।

२ सयमा टिकट

क्रिकेट हेर्न समूह चरणको खेलसम्मका लागि २ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ। सेमिफाइनल खेलदेखि भने टिकट मूल्य बढाएर ३ सय रुपैयाँ बनाइएको छ। त्रिवि क्रिकेट मैदानमा १२ देखि १५ हजार दर्शक अट्न सक्छन् भने मुलपानीमा ३ हजार ५ सय जना अट्न सक्ने क्षमता छ।

शुक्रबार नेपाल र युएईबीच हुने सेमिफाइनल खेल भने मुलपानी मैदानमा हुँदैछ। क्रिकेट संघले टिकट व्यवस्थित गर्न आइएमई पेमार्फत अनलाइन टिकट खरिद गर्ने व्यवस्था मिलाएको छ। यसरी हेर्दा टिकट बिक्रीबाट शुक्रबार मात्र १० लाख ५० हजार रुपैयाँ आम्दानी हुनेछ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img