बझाङ । बझाङका भूकम्पपीडित महिना दिनदेखि त्रिपालमा बसिरहेका छन् । चिसो बढेसँगै उनीहरूको दैनिकी कष्टकर बनेको छ ।
भूकम्प गएको चौथो दिन तामझामसहित बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका थिए । तर त्यो अहिलेसम्म पूरा भएको छैन ।
यहाँका भूकम्पपीडित महिना दिनसम्म पनि राहत नपाउँदा निराश छन् । क्षमता हुनेले टिनको टहरा बनाएर सरिसके पनि १२ परिवार अहिले पनि पालमै बसिरहेका छन् । उनीहरूलाई नागरिक आवाज भन्ने संस्थाले बिहान र साँझको खाना खुवाउने गरेको छ ।
पालमा बसेकालाई झाडापखाला, रुघाखोकी, दम, ढाड कम्मर दुख्ने, बच्चाहरूलाई निमोनिया, टाइफाइडजस्ता समस्या रहेको थलारा स्वास्थ्य चौकीका अहेब गौरीशंकर जोशीले बताए । असोज दोस्रो साता गएको भूकम्पका कारण बझाङका १२ हजार घरमा क्षति पुगेको थियो ।
बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर असोज १६ गते दिउँसो गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसपछि लगातारका परकम्पले सबैभन्दा बढी क्षति थलारा गाउँपालिकामा भएको थियो ।