काठमाडौं: स्थानीय निर्वाचनपछि धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्क साम्पाङ छिट्टै नै चर्चामा आए । उनको कार्यशैली र निर्णयले उनलाई एकातर्फ लोकप्रिय बनाउँदै छ भने अर्कोतर्फ विवादमा पारिरहेको छ। निर्वाचनपछि उनले खोलाबाट गिट्टी उत्खनन गर्न रोक लगाएपछि उनी राजनीतिक दलका लागि चिन्ताको विषय बने। यस्तै, उनले श्रमदानको माध्यमबाट नगर सफा बनाउने, खानेपानी ल्याउने जस्ता काम गरेर आमनागरिकको मन जिते। तर, नक्सापास नगरी चर्च निर्माण गरेको भन्दै उनमाथि आलोचना भयो। उनका काम कारबाहीमाथि असन्तुष्ट दलहरूले पटक-पटक कार्यपालिका बैठक अवरुद्ध गरे।
तैपनि, मेयर साम्पाङ आफ्नो बाटोबाट पछि हटेका छैनन्। उनको सरल जीवनशैली र काम गर्ने शैलीले उनलाई लोकप्रियता दिएको छ। उनका यस्ता गुण र कार्यहरूका कारण नै विवाद उत्पन्न भएको हुनसक्छ। उनको कार्यकाल कसरी अगाडि बढ्छ भन्ने कुरा हेर्न बाँकी नै छ।
उनको पहिलो निर्णयले नै राजनीतिक दलहरूमा हलचल नै मच्चायो । पहिलो कार्यपालिका बैठकबाट आफ्नो क्षेत्राधिकार भित्र रहेका खोला कसैलाई पनि ठेक्का नदिने घोषणा गरे । यो घोषणा सँगै वर्षाै देखि त्यही खाेलाबाट गिटि तथा बालुवा उत्खनन गरेर अकुत सम्पत्ति आर्जन गर्ने ठेकेदार तथा राजनीतिक पार्टीका केही कुन्डलेहरू हर्कदेखि रुष्ट बन्न पुगे र उनको खुलेरै विरोध गर्न थाले । हर्क र राजनीतिक दलहरू बिच त्यही समयबाट क्रमशः दुरी बढ्दै गयो । साम्पाङले जनताको मन जित्दै, एक पछि अर्को कार्य गर्दै गए ।
उनी लोकप्रिय बने तर दलका लागि भने आँखाकाे कसिङर झैँ बन्दै गए । मेयर साम्पाङ नेपालमा श्रम संस्कृतिको प्रवर्द्धकका रूपमा उदाए ।अहिले धरानमा शनिवारको पर्यायवाची शब्द श्रम बार बनेको छ। श्रमको स्थलगत अध्ययन तथा अवलोकनका लागी बिध्यार्थिहरू देशका विभिन्न विद्यालयबाट गाडीका गाडी आउने गरेका छन् । प्रत्येक साता सयाैकाे संख्यामा जनताहरूको भिड हुने गर्छ। के श्रम गरेर आफ्नो नगर , सहर आफै बनाउनुपर्छ भन्ने हर्क गलत हुन ? जनताको श्रमदानबाटै मेयर साम्पाङले नगरमा खानेपानी झारे । ७५ किमी टाढा रहेको काेकाहा खानेपानी धरान ल्याए ।
तर पनि उनले जस भने पाएनन्, पानी अशुद्ध भयो भनेर केही दलले गर्नु विरोध गरे । श्रम गरेर पानी ल्याउन राजनैतिक दलहरूको सहभागिता शून्य झैँ थियो । जम्मा भएको पानीलाई सफा बनाएर हरेक नगरवासीको घर घरमा पुर्याइन सकिन्थ्यो तर केही राजनीतिक दलले यसैलाई एजेन्डा बनाए र मेयरलाई असफल बनाउने प्रयासमा हद सम्म जुटे । सामान्य रूपमा हेर्नेहाे भने पानी ल्याए पश्चात् क्रमशः शुद्धीकरण गर्न सकिन्थ्यो । त्यस्तै बालगाेपाल मन्दिर अगाडी चर्च निर्माण गरिए पश्चात् सामाजिक सञ्जालमा एकाएक हर्कका आलोचना सुरु भयो ।
व्यक्तिगत जग्गा दान दिनेले दियो बनाउनेले चर्च बनायो । विरोधको कुरा भनेको नक्सा पास नगरी चर्च निर्माण गरिनु हो । नक्सा पास गर्ने निकाय सिङ्गो उपमहानगर हो जहाँ नगर कार्यपालिकामा राजनैतिक दलहरूकै हालीमुहाली छ। नक्सा पास नगरी बनाएको संरचनाको दोष किन हर्कलाई मात्र थुप्रियो ? यहाँ केही व्यक्ती तथा राजनैतिक दलले धमिलो राजनीति गरेको देखिन्छ । मानाै हर्कले अवैधानिक तरिकाले निमार्ण भएको भनी, चर्च भत्काएको भए त्यस कदमले कस्तो रूप लिन्थ्यो ? त्यही कुरा पार्किङ विवादमा पनि लागु भइरहेकाे छ । यसको जस मेयर एक्लैको हो या समग्र कार्यपालिकाको ? यति मात्र हैन उनलाई असफल बनाउन प्रत्येक कार्यपालिका बैठक बिथोल्ने काम पनि निरन्तर नै छ । वडाध्यक्ष देखि कार्यपालिका सदस्य सम्मले साना साना विषय निकालेर हर्कलाई तल देखाउने कोसिस गरिरहेका छन जुन अहिले पनि जारी छ ।
अझ केही साता अगाडीको बैठकमा त उपमेयर बेघालाई समेत उचालेर मेयर विरुद्ध खन्याए । हर्कलाई असफल साबित गर्न धरानका राजनीतिक दलहरू लागि परेको छन् भन्ने आधार त्यही कार्यपालिका बैठकबाट पनि देख्न र अनुमान लगाउन सकिन्छ । मेयर साम्पाङ र उपमेयर बेघा बिच जुहारी चलिरहँदा छेउमै रहेका धरान उपमहानगर १७ का वडाध्यक्ष सूर्य भट्टराई(मनोज)ले गरेको हर्कत हेर्ने हो भने पनि सजिलै थाहा पाउन सकिन्छ कि हर्कलाई असफल बनाउन को को लागेका छन् भन्ने । नगरमा प्रमुख र उपप्रमुखको जुधाई चलिरहँदा मुसुमुसु हाँसेर लाजै नमानी , कसैको डर भर नै नराखी बैठक कक्षभित्रै खुलेआम गुट्खा मुखमा लगाउनु यो कहाँ सम्मको हेपाहा प्रवृत्ति हो ।
उनको हर्कत नियाल्ने हो भने मेयर हर्कलाई असफल बनाउन लागि पर्ने पात्रमा उनी पनि एक हुन भन्न सकिन्छ । अर्को कुरा हर्क मेयरमा निर्वाचित बने पछि उनले जे जति निर्णयहरू गरेका छन् ती सबै धरानकै हितमा गरेका छन् । उनले सर्दु जलाधार क्षेत्रलाई संरक्षण गर्न अभियान चलाए ।अदालती प्रक्रिया कारण उनी अप्ठेरोमा परे तर दलका केही नेताहरूले त्यहाँ पनि मेयर साम्पाङलाइ नै दोषी देखाइदिए । अदालतको काम कारबाही एक ठाउँमा छ तर मेयर साम्पाङले गर्ने खोजेको र चालेको कदम पनि सही नै थियो । सर्दु जलाधारको क्षेत्र अतिक्रमण हुँदै गएपछि उनले चासो देखाउनु नराम्रो थियो र ? स्थानीय तहमा प्रमुख बनिसकेपछि अन्य प्रमुख उपप्रमुख हरूको जीवनशैली सँग हर्कका जीवन शैली पटक्कै दाँज्न मिल्दैन ।
मेयर बन्ने बित्तिकै अघि पछि नगर प्रहरी , चिल्ला गाडी , कोर्ट पाइन्ट ,सुकिला मुकिला भएर हिँड्ने अन्य मेयर उपमेयरहरू भन्दा हर्कले आम नागरिक सरह सामान्य जीवनशैली अपनाएकै कारण उनी जनता माझ लाेकप्रिय छन । खानेपानीकाे पाइप तान्ने देखि वृक्षारोपण , गिट्टी कुट्ने देखि मच्छरको लार्भा नष्ट गर्ने सम्म उनी स्वयम नै खटिएको प्रस्ट देखिन्छ । न कुनै दिन सुकिला मुकिला लुगा शरीरमा हुन्छ न कहिल्यै चिल्ला गाडी चढेर हिँड्छन् । जनताको कार्यक्रममा सरिक हुँदा उनी आफ्नै मोटरसाइकल लिएर निस्कन्छ यहाँ सम्म कि कार्यालय पनि सोही मोटरसाइकलमै जान्छन् मोटरसाइकलमै आउँछन् ।
उनले नगरको गाडी सेवा सुविधा बिरलै प्रयोग गर्ने गरेको पाइन्छ । उनको यस्ता गतिविधिले धरानमा राजनीतिक दलका लागि टाउको दुखाइ बनेको छ । मेयर साम्पाङले गरेको सानो सानो काममा पनि दोष थुपार्ने र उनैलाई उक्साएर सामाजिक सञ्जालमा स्ट्याटस लेख्न बाध्य बनाउने जमात केही छन् । यति हुदाँहुदैँ पनि मेयर साम्पाङ पछि हटेका छैनन् बरु उल्टै म घामड हु ,घमन्डी छु भन्दै फेसबुकको भित्ता काेरिदिन्छन र दललाइनै चुनौती दिने गर्छन् ।