Saturday, May 17, 2025
समाजप्राचीन भद्रकाली मन्दिर: सिन्धुलीको ऐतिहासिक धरोहर
spot_img

प्राचीन भद्रकाली मन्दिर: सिन्धुलीको ऐतिहासिक धरोहर

spot_img

सिन्धुली  | सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर २ मा अवस्थित भद्रकाली मन्दिर एउटा प्राचीन र प्रसिद्ध धार्मिक स्थल हो। यो मन्दिर काठमाडौंबाट बी.पी. राजमार्ग हुँदै ढुंग्रेभन्ज्याङको दायाँतिर डाँडाको चुचुरोमा अवस्थित छ। प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रमा पुग्न राजमार्गबाट १५८ खुट्किला माथि उक्लिनु पर्दछ।

नेपाली शैलीको यस मन्दिरको गर्भगृहमा करिब १.५ फिट अग्लो कालो प्रस्तरको शिला मूर्ति रहेको छ। तामाको छत्र ओढाइएको यसलाई नै भद्रकाली देवीको प्रतीक मानी भक्तजनहरूले पूजा अर्चना गर्दछन्। मन्दिरमा बि.सं. १९८८ सालमा चढाइएका घण्टहरू पनि रहेका छन्। यस मूर्तिको उत्पत्ति आफै प्राचीन कालमा भएको भनी एउटा किम्बदन्ती रहेको छ।

त्यस किम्बदन्तीअनुसार बि.सं. १८०० साल पूर्व भारी बोकी आवतजावत गर्ने एक भरियाले खाना पकाउन ढुंगा खोजेर ल्याई चुल्हो बनाउँदा भाँडा पटक-पटक ढल्ने गरेको थियो। एक पटक रिसले चुर भएर उक्त ढुंगालाई खुकुरीले प्रहार गर्दा त्यसबाट रगत बगेको देखेपछि भरिया त्रसित भई खाना नपकाई आफ्नो गन्तव्य तिर लागेको रहेछ।

सोही रात सपनामा भद्रकालीले आफ्नै उपस्थिति बारे जनाउँदै “मलाई खुकुरी प्रहार गरी घाइते बनाइस्, त्यसैले त र तेरा परिवारले रगत छादेर मर्नु पर्नेछ” भनी सराप दिएपछि भरिया बडो डराएको थियो। घटनाको विवरण गाउँलेहरूलाई सुनाएपछि स्थानीयवासीले त्यस स्थलमा गई भद्रकाली प्रकट भएको थाहा पाए। तत्कालै सर्वसाधारण र तान्त्रिक विद्याका जानकार धामी/झाँक्रीको सहयोगमा विधिपूर्वक भद्रकाली देवीको शिला मूर्ति स्थापना गरी आराधना गर्न थालिएको रहेछ।

अहिले पनि शिला मूर्तिमा खुकुरी प्रहारका दागहरू देख्न सकिन्छ। गोरखाली भगवती मनकामनाकी बहिनीलाई प्रतिनिधित्व गर्ने यस मन्दिरलाई राजा पृथ्वीनारायण शाहले विजय प्राप्त गर्न स्थापना गरेको भन्ने धारणा पनि छ। यस मन्दिरप्रति मनोकामना पूरा हुने आस्था रहेकाले मन्दिर नजिकै बलि दिने स्थलसमेत छ।

विगतमा सिन्धुलीगढीको सरकारी कार्यालयबाट पनि यसमा पूजा गरिन्थ्यो। मन्दिर परिसरमा अन्य देवी-देवताका मूर्तिहरू पनि रहेका छन्। मन्दिरको चुचुरोबाट ऐतिहासिक सिन्धुलगढीको डाँडा र आसपासको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। मन्दिरको संरक्षण र सम्भारको लागि एक समितिसमेत गठन गरिएको छ।

प्राचीन भद्रकाली मन्दिर आफैँमा सिन्धुलीको एउटा महत्वपूर्ण ऐतिहासिक धरोहर हो, जसले नेवारी शिल्पकला र संस्कारको थुप्रै सङ्केतहरू बोकेको छ। सरल स्थानीय जनजीवनमा अन्तर्निहित रहेको भद्रकालीप्रतिको विश्वास र भक्तिले यस मन्दिरलाई अझै पनि पुरातात्विक र पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्दछ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img