इटहरी | भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरीलाई संरक्षण थालिएको छ । यस वर्ष केन्द्र सरकारअन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि २० लाख रूपैयाँका दरले बजेट विनियोजन गरि संरक्षण थालिएको हो ।
विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएको छ । पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना बनाइएको छ ।
बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय एगिन्द्र दंगालले बताउनुभयो । यो पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको छ । पोखरी हराबरा बनाउने काम स्थानीय सरकारले गर्दै आएको छ ।
पोखरीलाई संरक्षण गर्न गाउँपालिका र वडा समन्वय गरेर संरक्षण गर्न अगाडि बढेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । पोखरीमा पाँच वटा डुङ्गे धारा बनाउने भएको उहाँको भनाइ छ । पोखरीको अगाडि मानिसलाई बस्न प्रतिक्षालय समेत बनाउने भएको उहाँको भनाइ छ ।
पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनु भयो ।
पोखरीको बिचमा रहेको खम्बामा माथि एउटा त्रिशूल समेत रहेको थियोे अहिले त्यो त्रिसुल देख्न पाइदैनन । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको छ । यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गरेका थिए । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् ।
टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीयस्थल रहेकाले त्यस्ता क्षेत्रको संरक्षण गर्दै विकासमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।
विगतमा यस पोखरीको नाममा टेम्केमैयुङ-५, खावा केराबारीमा ८० मुरी धान फल्ने गुठी रहे पनि अहिले त्यो हराएको उनले जानकारी दिए । पोखरीको गुठीका रुपमा रहेको जग्गा खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने स्थानीय टङ्क घिमिरेले बताए ।