बुटवल । रुपन्देहीको सदरमुकाम बुटवलमा परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रहरू डुबानमा परेका छन्। बजार क्षेत्र र शैक्षिक संस्थाहरू समेत बाढीको चपेटामा परेका छन्।
राति परेको मुसलधारे वर्षाले मुख्य व्यापारिक केन्द्र अमरपथलाइनमा रहेको सोह्र छत्तीस कुलो थुनिँदा बजार क्षेत्रमा फोहोर लेदो र बाढीको पानी पसेको छ। यसले स्थानीयवासीको आवागमनमा समस्या पारेको छ। साथै, बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ।
यसैगरी, बुटवल हाटबजारलाइनमा अवस्थित रुपन्देही उद्योग संघको सचिवालय, राष्ट्रिय समाचार समिति र बस समितिको कार्यालयको भुइँतलामा पनि बाढीको पानी पसेको छ। कार्यालयहरूको कामकाज प्रभावित भएको छ।
बाढी पसेपछि बुटवलको न्यू होराइजन बोर्डिङ स्कुल लगायतका शैक्षिक संस्थाहरूले पनि एकदिनका लागि पठनपाठन बन्द गरेका छन्। कालिकानगरस्थित शुभ नारायणी फर्निचर उद्योगमा पनि बाढी पसेर करिब ५ लाख रुपैयाँको क्षति भएको छ।
बुटवल उपमहानगरपालिकाका इन्जिनियरका अनुसार सोह्र-छत्तीस कुलोको गेट बन्द भएकाले पानी बग्न नपाउँदा डुबानको समस्या आएको हो। प्रहरीले पनि नाली र कुलो थुनिँदा बाढीको समस्या भएको बताएको छ। भौतिक क्षति भए पनि मानवीय क्षति नभएको जनाइएको छ।