हेटौँडा | मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानसम्बन्धी विस्तृत स्वेतपत्र जारी गरेका छन्। यस स्वेतपत्रमार्फत हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानकै भएको दाबी गरिएको छ। तर, हेटौँडा अस्पतालको स्वामित्व हस्तान्तरण विरुद्ध राजनीतिक दलहरूले आशंका गर्दै विरोध जनाउँदै आएका छन्। मुख्यमन्त्री पौडेलले स्वेतपत्रमार्फत प्रतिष्ठानबारे देखिएका अन्योल र भ्रमको समाधान गर्दै प्रतिष्ठानको अवस्था, प्रगति र भविष्य योजनाबारे जानकारी दिएका छन्।
स्वेत पत्रमा मुख्यमन्त्री पौडेलले प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको सम्पूर्ण स्वामित्व हस्तान्तरण भइसकेको र प्रतिष्ठानले नै अस्पताल सञ्चालन गरिरहेको बताएका छन्। उनले प्रतिष्ठानलाई वैधानिक रूपमा स्थापना गरिएकाले त्यसको संरक्षण र विकासमा सबैलाई लाग्न आग्रह गरेका छन्।
प्रतिष्ठानको कामकारबाहीमा कानूनविपरित अवरोध सिर्जना भएकाले प्रतिष्ठानलाई स्वायत्त रूपमा कामगर्न दिनुपर्ने उनको माग छ। स्वेत पत्रमा प्रतिष्ठानका उपलब्धि, सेवा विस्तार र भविष्य योजनाबारे समेत उल्लेख छ।
प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालमा ५०० शय्या विस्तारका लागि कामहुँदै गरेको र बेसिक हेल्थ साइन्स (युरोपियन युनियन) को पठनपाठनका लागि ५५ करोडको लगानीमा अत्याधुनिक भवन बनाउने काम भइरहेको जनाइएको छ। एमबिबिएस पठनपाठन शुरु गर्ने तयारी पनि भइरहेको उल्लेख छ।
स्थापनाकालका मुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग मकवानपुरमा छुट्टै प्रदेश अस्पताल स्थापना गर्न समेत अनुरोध गरेका छन्।
राजनीतिक दलहरूको विरोध र चेतावनी
हेटौँडा अस्पतालको अस्तित्व नै अन्त्य गरी त्यसलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समाहित गर्ने प्रदेश सरकारको प्रस्तावको विरोध गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टि र नेकपा अनुसूचित नागरिकसमेतका दलहरूले संयुक्त विज्ञप्ति जारी गरिसकेका छन्।
विज्ञप्तिमा भनिएको छ, “राज्यको ठूलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक २ हजार भन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधिले हामी सबैको ध्यानाकर्षण भएको छ।”
राजनीतिक दलहरूले यदि हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल नरोकिएमा सडक र प्रदेशसभामा समेत आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएका छन्। हेटौँडा अस्पतालको पुरानो परम्परा र इतिहासलाई ध्यानमा राखी त्यसको अस्तित्व जोगाउनु पर्ने माग उनीहरुको छ।
सर्वोच्च अदालतको निर्णय अनुसार हेटौँडा अस्पताल प्रतिष्ठानकै
स्थापनाकालका मुख्यमन्त्री पौडेलले स्वेत पत्रमा उल्लेख गरेअनुसार बागमती प्रदेशको अघिल्लो सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्ने प्रयास गरेको थियो। तर, प्रतिष्ठानले यसको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
सर्वोच्च अदालतले प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्न नमिल्ने निर्णय गरिसकेको छ। यसरी अदालतले कानुनी व्यवस्थालाई निर्णयद्वारा पुनःपुष्टी गरिसकेको हुँदा प्रतिष्ठानसँग हेटौँडा अस्पताललाई अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति स्थापनाकालका मुख्यमन्त्री पौडेलका अनुसार भ्रम, कुण्ठा र राजनैतिक प्रतिशोध बाहेक केही होइन।
उनले यस्ता अभिव्यक्तिलाई सबैले बुझ्नुपर्ने र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरक्षण र विकासमा लाग्न आग्रह गरेका छन्।
यसरी मुख्यमन्त्री पौडेलले जारी गरेको स्वेतपत्रमा हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानकै रहेको दावी गरिएको छ भने सर्वोच्च अदालतको फैसला अनुसार पनि अस्पताल प्रतिष्ठानबाटै सञ्चालित हुनुपर्ने स्पष्ट पारिएको छ। विवादको मुद्दालाई समाधान गर्दै प्रतिष्ठानको भावी योजना पनि स्वेतपत्रमा उल्लेख गरिएको छ।



