सुलीकोट । सिरानचोक गाउँपालिका–१ बिरौटाका १६ वर्षीय मेष तामाङ र गोरखा नगरपालिका–१० छेपेटारका १९ वर्षीय समीर श्रेष्ठको शुक्रबार छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
सिरानचोक गाउँपालिका–१ बिरौटा बस्ने कर्णमान तामाङको छोरा मनिष भन्नेसमेत १६ वर्षीय मेष तामाङ मुगेस्थित चेपे खोलामा पौडी खेल्ने क्रममा शुक्रबार बेलुका ४ बजे डुबेर मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनेबित्तिकै जौबारी इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रविन घिमिरेको नेतृत्वमा ५ जनाको टोली घटनास्थलतर्फ गएको थियो। प्रारम्भिक अनुसन्धानपछि मृतकलाई पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउन तयारी थियो।
त्यस्तै, गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा झापा कमला गाउँपालिका–५ पाडा जुगेका १९ वर्षीय समीर श्रेष्ठको पनि शुक्रबार मृत्यु भयो।
पालुङटार नगरपालिका–१ खोप्लाङमा ठुली आमाको घरमा बस्दै आएका समीर करिब ३ बजे नदीमा डुबेका थिए। उनलाई नदीबाट अचेत अवस्थामा उद्धार गरिए पनि गोरखा अस्पतालमा उपचारकै क्रममा शुक्रबार साँझ मृत्यु भएको थियो।