हेटौँडा | मकवानपुरको बकैया गाउँपालिका-१२, चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान करिब ७:३० बजेको समयमा सवारी दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ।
मकवानपुरको बकैया-१२ का प्रेम लाल ब्लोन र रौतहटको मौलापुर नगरपालिका-६ का १७ वर्षीय विवेक शाहको मृत्यु भएको हो।
ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका ब्लोनलाई ११:४२ बजे र शाहलाई ११:४७ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत घोषित गरिएको थियो।
कार चालक बारा जिल्लाको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दिप शाहको अवस्था गम्भीर रहेको छ। उनलाई मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।