Friday, February 14, 2025
समाजजिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ र यसले बिरामीको उपचारमा गम्भीर समस्या उत्पन्न गरेको छ। औषधि अभावको यो समस्याको दीर्घकालिन समाधानका लागि सरोकारवाला निकायहरूले कुनै चासो देखाएका छैनन्।

औषधि अभावका कारण सेवाग्राहीलाई आवश्यक औषधि उपलब्ध गराउन नसक्दा जिल्ला अस्पताल आफैँ बिरामी अवस्थामा पुगेको जस्तो देखिन्छ। सरकारले ९८ प्रकारका निःशुल्क औषधि वितरण गर्ने भने पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोल औषधिसमेत पाउन गाह्रो बन्दै गएको छ।

मुगुको सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिट्टिक्क देखिने जिल्ला अस्पताल मुगुको सेवा सुविधाको हिसाबले थला परेको अवस्था छ। बिरामी भएर उपचारका लागि अस्पताल आउने मुगालीहरूले गुणस्तरीय उपचार नपाएको गुनासो गर्दै आएका छन्।

मुगुको खत्याड गाउँपालिका-९ का राजकुमार लावड सामान्य बिरामी भएपछि जिल्ला अस्पताल मुगु आएका थिए। तर, उनलाई अस्पतालमा सिटामोल औषधिसमेत प्राप्त गर्न सकेनन्। ज्वरो आउने, खोकी लाग्ने, कान दुख्ने जस्ता समस्या देखिएपछि आफू अस्पताल पुगेकोमा सिटामोल पनि नपाएकोमा उनको गुनासो छ।

१५ शय्याको जिल्ला अस्पताल मुगुमा उपचारका लागि मुगुका मात्र होइन, छिमेकी जिल्ला हुम्लाका केही क्षेत्रका नागरिक पनि आउने गरेका छन्। मौसम परिवर्तनसँगै बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

औषधि अभाव हुँदा पनि सम्बन्धित निकायहरू बेखबर रहेको नागरिकहरूको गुनासो छ। जिल्ला अस्पताल मुगुले समय समयमा औषधि अभावको समस्या खेप्दै आइरहेको छ।

गत भदौ महिनामा खरिद गरिएको औषधिले अहिलेसम्म काम चलाएको अस्पताल प्रशासनले जनाएको छ। अहिले गत वर्ष खरिद गरिएका औषधिले धानिरहेको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डा. कमल ढुङ्गनाले बताएका छन्।

सामान्य बिरामी हुँदासमेत उपचार नपाएपछि नागरिकहरू मारमा परेका छन्। गाउँमै अस्पताल भएर पनि आफूहरूलाई सास्ती खेप्नु परेको उनीहरूको गुनासो छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img