झापा | अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु भएको छ । शुक्रवार मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिकाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए ।
उनी मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता पनि हुन् । नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । छिमेकीका अनुसार दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्किएको अनुमान गरिएको छ । स्थानीयले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन् ।
त्यस्तै आज अपराह्न बुद्ध शान्तिको जयपुरमा एक बेवारिसे शव फेला परेको छ । मागिखाई हिँड्ने अन्दाजी ६०–६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशङ्का गरिएको छ । आज झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।