काठमाडौं | यो सिजन चर्को गर्मीका कारण देशभर विद्युत् खपत बढ्दा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा सकस छ । तराईका जिल्लामा मात्रै होइन, काठमाडौं उपत्यकामा समेत गर्मी अत्याधिक बढेपछि साँझको पिक आवरमा विद्युत् खपत २ हजार १७० मेगावाटसम्म पुग्न थालेको छ । जुन विगतको भन्दा निकै बढी विद्युत् खपत हो ।
विद्युत् खपत धान्न नसकेर प्राधिकरणले साढे २ सय मेगावाट भारतबाटै आयात गरिरहेको छ । अहिले १७ सय देखि १८ सय मेगावाट हाराहारी बिजुली देशमा उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । स्वदेशमा उत्पादित र आयाति बिजुलीबाटसमेत लोड व्यवस्थापन नहुँदा साढे २ सय मेगावाट अपुग भएको प्राधिकरणकाले बताउछ ।
हिजोआज बिजुली अपुग हुँदा औद्योगिक क्षेत्रका उद्योगहरुले १५ घण्टाभन्दा बढी लोडसेडिङको मार खेप्नुपरेको छ । दिनको ७/८ घण्टा उपलब्ध हुने बिजुली पनि ‘ट्रिपिङ’ समस्याले उद्योग चलाउन सक्ने अवस्था नरहे भन्दै उद्योगीहरु गुनासो गरिरहेका छन् ।
यसैबीच, प्राधिकरणले ४०० मेगावाट बिधुत भारतलाई बेचिरहेको भन्ने कुरामा प्रश्न उठेको छ ।
एकातिर स्वदेशमा मागअनुसारको विद्युत् अपुग छ । अर्कातिर भारतबाट आयात गर्नुपर्ने बाध्यता । यस्तो अवस्थामा प्राधिकरणले कसरी विद्युत् निर्यात गर्नसक्छ?
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत जेठ १४ बाट भारततर्फ ४०० मेगावाट बिजुली निर्यात सुरु गरेको दाबी गरेका थिए । प्राधिकरणले ‘भारततर्फ विद्युत् निर्यात सुरु’ शीर्षकको तयारी समाचार सञ्चारमाध्यमलाई पठाउनसमेत भ्यायो । गर्मीयामका कारण देशभर विद्युत् खपत बढ्दो थियो । विद्युत् उत्पादन घटिरहेका बेला कसरी निर्यात हुन थाल्यो ? भन्ने जिज्ञासा स्वभाविक पनि हो ।
तर, प्राधिकरणकै स्रोतले तत्कालका लागि नभई विद्युत् उत्पादन बढ्ने बेला बर्खायामको बढी हुने बिजुली मात्रै निर्यात गर्ने भनिएको बताए । स्वदेशमा खपत भएर बढी भएको बिजुली निर्यात गर्नै पर्छ । तथापि, स्वदेशमै विद्युत् लोड नपुगेर आयात गर्नुपरेको अवस्थामा प्राधिकरणले विद्युत् निर्यातकै गफ लगाउन नहुने विज्ञहरु बताउँछन् ।
नेपालबाट सरदर ८.६७ रुपैयाँ प्रतियुनिटका दरले प्राधिकरणले भारतीय बजारमा विद्युत् बिक्री गर्दैछ। प्रतियुनिट ८.६७ रुपैयाँ निर्यात गर्ने बिजुली स्वदेशमै खपत गर्न सकेको भए ४५ रुपैयाँ आम्दानी हुने अनुमान गर्न सकिन्छ ।