झापा | झापाको दमकमा शुक्रबार दिउँसो भएको एक दुर्घटनामा तीन चक्के विद्युतीय गाडी ‘सिटीसफारी’को ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा बालिकाकी आमा घाइते भएकी छिन्।
दमक-१ बरगाछीस्थित भित्री पक्की सडकमा श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटीसफारीले काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनकी छोरी २ वर्षीया आरुसी मगरलाई ठक्कर दिएको थियो।
घाइतेहरूलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लगिएकोमा दिउँसो २ बजे आरुसीको मृत्यु भएको हो। शर्मिलाको हात खुट्टामा सामान्य चोट लागेको र उपचार जारी रहेको छ।
दुर्घटनापछि भागेका सिटीसफारी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। सिटीसफारी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।