हेटौँडा | हेटौँडामा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार, दुर्घटना मंगलबार साँझ करिब ७ बजे हेटौँडा उपमहानगरपालिका वडा नं. ६ स्थित हात्तीलेठमा भएको हो।
हेटौँडा बजारबाट हटियातर्फ जाँदै गरेको ना ३ च ८२८९ नम्बरको खाली एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको ना ४२ प ५७०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा-१७ हटिया निवासी ३६ वर्षीय सुनिल दर्नाललाई टाउको र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार हेटौँडा-५ पिप्ले निवासी ४०-४५ वर्षीय भास्कर पौडेललाई दाहिने हात र टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
दुवै घाइतेलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीले जनाएको छ ।



