Saturday, November 2, 2024
समाजधुलिखेलमा पत्रकारहरुका लागि श्रव्यदृश्य सम्पादन कार्यशाला सुरु

धुलिखेलमा पत्रकारहरुका लागि श्रव्यदृश्य सम्पादन कार्यशाला सुरु

spot_img

धुलिखेल(काभ्रे) | बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयको आयोजनामा धुलिखेल नगरपालिकामा प्रदेशका विभिन्न जिल्लाबाट आएका २० जना पत्रकारहरुका लागि पाँच दिने श्रव्यदृश्य सम्पादन कार्यशाला मंगलबारदेखि सुरु भएको छ। यो कार्यशाला कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत संचालन गरिएको हो।

कार्यालयले यही असोज ६ गते कार्यशालामा सहभागी हुने पत्रकारहरुको सूची सार्वजनिक गरेको थियो। सहभागीहरु मध्ये मकवानपुरबाट ५ जना, ललितपुर, काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुरबाट ३/३ जना, रामेछाप,नुवाकोट र सिन्धुलीबाट १/१ जना र सिन्धुपाल्चोकबाट २ जना रहेका छन्।

workshop
कार्यशालामा सहभागी पत्रकारहरुलाई सहजीकरण गर्दै प्रशिक्षक नसना बज्राचार्य । तस्बिर: सञ्चार रजिष्ट्रार कार्यालय

कार्यशालामा सहभागी पत्रकारहरुयस कार्यशालामा मुख्यतया ‘एडव प्रिमियर प्रो’ सफ्टवेयर प्रयोग गरेर भिडियो सम्पादन गर्ने तरिकाहरु सिकाइने जनाईएको छ । तालिम दुई प्रशिक्षक, नसना बज्राचार्य र शिव पुरीले संचालन गर्ने बताईएको छ भने पहिलो दिन नासना बज्राचार्यले संचालन गरेकी छन्  ।

कार्यशालाको उद्घाटन सत्रमा सम्बोधन गर्दै बागमती प्रदेशका पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ यो तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताए। सापकोटाले भने, “दृश्यले धेरै कुरा बताउनु पर्छ भन्ने हुन्छ। हामीले भिडियोमा काम गर्दा भिडियोलाई कसरी बढी भन्दा बढी अर्थपूर्ण बनाउने भन्ने कुरा यस कार्यशालामा सिकाइनेछ।”

यस अघि कार्यालयले गत साउन १५ गते सूचना प्रकाशित गरी इच्छुक पत्रकारहरुलाई आवेदनका लागि आह्वान गरेको थियो। श्रव्यदृश्य सम्पादन कार्यशालाका साथै अन्य विभिन्न विषयहरुमा पनि तालिमहरु संचालन गर्ने योजना कार्यालयको रहेको छ ।

ती तालिमहरुमा अनलाइन पत्रकारिता, तथ्यांक आधारित पत्रकारिता, मोबाइल पत्रकारिता, समाचार लेखन तथा सम्पादन कार्यशाला, रेडियो प्राविधिक कार्यशाला र मिडिया संचालकहरुका लागि विज्ञापन कला सम्बन्धी कार्यशाला समावेश छन्।

यी तालिमहरुले बागमती प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नुका साथै आधुनिक प्रविधिसँग परिचित गराउने लक्ष रहेको रजिष्ट्रार सापकोटाले बताए । विशेष गरी श्रव्यदृश्य सम्पादन कार्यशालाले पत्रकारहरुलाई गुणस्तरीय भिडियो सामग्री तयार पार्न सक्षम बनाउने सापकोटाले बताए ।

कार्यशालामा सहभागी पत्रकारहरुले यस तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाउने र यसले आफ्नो पेशागत दक्षता बढाउन मद्दत गर्ने आशा व्यक्त गरेका छन ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img