Monday, November 11, 2024
समाजवृन्दावन वनस्पति उद्यानको उल्लेख्य उपलब्धि: दुर्लभ उन्यू प्रसारणमा फड्को

वृन्दावन वनस्पति उद्यानको उल्लेख्य उपलब्धि: दुर्लभ उन्यू प्रसारणमा फड्को

गत आर्थिक वर्षमा भ्रमण शुल्कवापत ६ लाख ८८ हजार राजस्व सङ्कलन

हेटौँडा |  मकवानपुरको वृन्दावन वनस्पति उद्यानस्थित वनस्पति अनुसन्धान केन्द्रले दुर्लभ वनस्पति प्रजाति ‘उन्यू’ को प्रसारणसम्बन्धि अनुसन्धानमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यो केन्द्रले हालसम्म ८ प्रजातिका दुर्लभ उन्यूलाई सफलतापूर्वक प्रसारण गर्न सकेको छ। यो उपलब्धि नेपालमा वनस्पति अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण मानिएको छ।

नेपालमा चिसो, ओसिलो र सेपिलो क्षेत्रमा पाइने ‘उन्यू’ वनस्पति बहुउपयोगी मानिन्छ। यसलाई औषधि, तरकारी, अचार र शोभनीय बगैंचा सजावटको रूपमा प्रयोग गरिन्छ। सन् २०२१ देखि सञ्चालनमा आएको यस अनुसन्धानले ८ वटा प्रजातिका उन्यूलाई सफलतापूर्वक प्रसारण गरेर ठुलो योगदान दिएको हो।

उन्यूको मुख्य विशेषता भनेको यसको फूल र फल नहुनु हो। यो प्राचीन वनस्पतिमा जलवाही र खाद्यवाही तन्तुहरु पाइन्छन्, जसले बिरुवालाई बाँच्न र बढ्न मद्दत गर्छ। यसको प्रजनन् प्रणाली विषाणुको माध्यमबाट हुन्छ, जुन पातको पछाडिपट्टि उत्पन्न हुन्छ। यिनको उत्पत्ति करिब ३६० करोड वर्ष पहिलेको कार्बोनिफेरस कालमा भएको मानिन्छ।

नेपालमा ६० मिटरदेखि ५ हजार मिटर उचाइको क्षेत्रमा यो वनस्पति पाइन्छ। उष्णदेखि अधिक चिसो जलवायु भएको क्षेत्रमा यो फस्टाउँछ। यसले दुई चरणीय जीवनचक्र पूरा गर्छ, जसमा स्पोरोफाइटिक चरणमा मुख्य बिरुवा हुर्कन्छ भने गेमेटोफाइटिक चरणमा प्रजनन प्रक्रिया हुन्छ।

lab ma hurkiyaka

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख उन्यू अनुसन्धानकर्ता चन्द्रकला ठाकुरको नेतृत्वमा सञ्चालित यस अनुसन्धानले दुर्लभ प्रजातिका वनस्पतिको संरक्षण र प्रसारणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। ठाकुरका अनुसार ल्याबमा हुर्किएका बिरुवालाई फिल्डमा सार्न ६ महिनादेखि १ वर्षसम्म लाग्न सक्छ। एकपटक फिल्डमा बिरुवा हुर्किएपछि किसानहरुलाई वितरण गर्न सकिनेछ।

उन्यू अनुसन्धानको सफलताले नेपालमा कृषि, स्वास्थ्य, र पर्यावरणीय क्षेत्रमा नयाँ सम्भावना खोलेको छ। वैज्ञानिकहरुका अनुसार यो वनस्पतिलाई शोभनीय बगैंचा सजावटमा मात्र नभई खानपिन र औषधि क्षेत्रमा पनि व्यापक प्रयोग गर्न सकिन्छ।

वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख वैज्ञानिक रघुराम पराजुलीले यस अनुसन्धानले नेपालमा दुर्लभ वनस्पतिको संरक्षणमा नयाँ सम्भावनाको ढोका खोलेको बताए। तर, अनुसन्धानलाई थप प्रभावकारी बनाउन बजेट र स्रोतसाधनको व्यवस्था आवश्यक रहेको पराजुलीले बताए।

राजस्व सङ्कलनमा वृद्धि

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले गत आर्थिक वर्ष २०८०/८१ मा भ्रमण शुल्कवापत ६ लाख ८८ हजार ७०५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो राजस्व हेटौँडाको वृन्दावन वनस्पति उद्यान र दामनको पर्वतीय वनस्पति उद्यानबाट संकलन गरिएको हो।

BANASPATI KENDRA

गत आर्थिक वर्षमा वृन्दावन वनस्पति उद्यानले ६ लाख २९ हजार ७५ रुपैयाँ र पर्वतीय वनस्पति उद्यानले ५९ हजार ६३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। यस अवधिमा २६ हजार २१४ आन्तरिक पर्यटक र १३ जना विदेशी पर्यटकले यी उद्यानहरूको भ्रमण गरेका थिए।

पर्यटकहरूले उद्यान प्रवेशका लागि विभिन्न शुल्क तिरेर राजस्व संकलन गरिएको हो। शैक्षिक अध्ययनका लागि आउने विद्यार्थीहरूबाट १० रुपैयाँ, १० वर्षमुनिका बालबालिकाबाट १५ रुपैयाँ, र १० वर्षमाथिका बालबालिकाबाट २५ रुपैयाँ प्रवेश शुल्क लिइन्छ। यसबाहेक, चलचित्र र म्युजिक भिडियो छायांकनका लागि ५०० रुपैयाँ र सेरेमोनियल वृक्षारोपणका लागि प्रति बिरुवा २ हजार रुपैयाँ शुल्क तोकिएको छ।

BRINDABAN CEREMONIYAL PLANT 11

पराजुलीका अनुसार गत वर्षको तुलनामा यस वर्ष राजस्वमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा तीन लाख रुपैयाँ राजस्व संकलन भएकोमा यो वर्ष लगभग सात लाख रुपैयाँ पुगेको हो। पराजुलीले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुने अपेक्षा व्यक्त गरेका छन्।

पराजुलीले भने, “चालु वर्षमा झनै बढी भ्रमणकर्ताहरू आउने अनुमान छ, जसले हाम्रो राजस्वलाई अझ वृद्धि गर्नेछ। अध्ययन, अनुसन्धान, र प्राकृतिक सौन्दर्यका लागि नेपालका विभिन्न भागबाट विद्यार्थीहरू र सहकारी समूहहरू उद्यानमा आउँछन्, जसले केन्द्रको गतिविधि विस्तार गर्न मद्दत पुग्नेछ।”

९६ हेक्टर क्षेत्रफलमा फैलिएको वृन्दावन वनस्पति उद्यान अध्ययन र अनुसन्धानका लागि नेपालकै प्रमुख गन्तव्य बनिरहेको छ। यहाँ विभिन्न दुर्लभ प्रजातिका वनस्पतिहरूको संरक्षण र अनुसन्धान भइरहेको छ, जसले यो केन्द्रलाई पर्यावरणीय अध्ययनको आकर्षक थलो बनाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img