Wednesday, November 6, 2024
समाजभोलि यी ठाउँहरूमा भारी वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह

भोलि यी ठाउँहरूमा भारी वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सुझाव दिएको छ। विभागले देशको पूर्वी र मध्य भागमा मनसुनी वायुको प्रभाव रहेको र पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको बताएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगालको उत्तर भू-भागमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देशको पूर्वी र मध्य भागमा देखिएको छ।

विभागका अनुसार असोज २० गते राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनसक्छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

असोज २१ गते सोमबार दिउँसो देशभर सामान्य बदलीको अवस्था रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, मधेश, र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ भने देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ।

मंगलबार दिउँसो कोशी प्रदेशमा आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ भने अन्य प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। त्यस्तै, बाढी, पहिरो र भू-क्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम रहेकोले ती क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन र सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले सम्भावित क्षेत्रका नागरिकहरूलाई मौसमको अवस्था प्रति सजग रहन र आवश्यक सावधानी अपनाउन विशेष अनुरोध गरेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img