सुनसरी | साइबर अपराधसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका सुनसरीका ६० वर्षीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले कोशी गाउँपालिका–३ स्थित नहर चोकमा दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको थियो।
मेहताको दाहिने खुट्टा र हातमा चोट लागेको थियो। प्रारम्भिक उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर पठाइएको थियो।
मेहताको निधनसँगै परिवारजनले सप्तकोशी न्युरो अस्पतालको लापरबाहीलाई दोषी ठहर गर्दै छानबिनको माग गरेका छन्। अस्पतालले उपचारमा लापरबाही गरेको दाबी गर्दै उनीहरूले न्यायका लागि दबाब दिने तयारी गरिरहेका छन्।
यस घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।