भिडियोश्रीमान् पर्खेर २० वर्ष बिताइन् मनमायाले, न्यायको प्रतीक्षा अझै जारी

श्रीमान् पर्खेर २० वर्ष बिताइन् मनमायाले, न्यायको प्रतीक्षा अझै जारी

spot_img

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारकी ७१ वर्षीया मनमाया तामाङले आफ्नो जीवनका दुई दशक श्रीमान् कृष्ण तामाङको प्रतिक्षामा बिताइन्। २०६१ चैत ७ गते घर नजिकैबाट हराएका ६० वर्षीय श्रीमान् कृष्ण तामाङको अझै कुनै पत्तो छैन।

“सरकार, मेरो लोग्नेको लाश देखाइदेऊ कि सास पठाइदेऊ,” आँसुका बिच मनमाया भन्छिन्। श्रीमान् हराएको २० वर्ष बितिसक्दा पनि उनी आफ्ना लोग्ने फर्किने आशामा छिन्।

कृष्ण तामाङ मकवानपुरको रमनटारमा बसाइँ सरेर ज्यालादारी र झारफुकको काम गर्दै पाँच सन्तानलाई पाल्दै आएका थिए। गृहयुद्धको समय गाउँ डुल्न निस्किएका उनी कहिल्यै घर फर्किएनन्।

गाउँलेहरूको भनाइ अनुसार, सेनाले उनलाई गाडीमा हालेर लगेको देखिएको थियो। मनमायाले चितवनको सुनाचुरी ब्यारेकसम्म खोज्न पुगेर श्रीमान्को फोटो समेत सेनालाई दिइन्। तर सेनाले न त कृष्णलाई फिर्ता गर्‍यो, न त त्यो फोटो नै।

कृष्ण हराएको १० महिनापछि मनमायाले चितवन राष्ट्रिय निकुञ्जको कसराबाट आएको चिट्ठीबारे थाहा पाइन्। चिट्ठीमा कृष्णलाई गैंडा मार्नेसम्बन्धी आरोपमा नियन्त्रणमा राखेर १० वर्षको जेल सजाय सुनाइएको उल्लेख थियो।

त्यसपछि मनमायाले अदालतको ढोका ढकढकाइन् तर कुनै सुनुवाइ भएन। गाउँपालिकाका पूर्वअध्यक्ष टंक मोक्तानका अनुसार कृष्ण कसरामै सेनाको बन्दीगृहमा बिरामी भएर मृत्युवरण गरेको खबर आएको थियो। “तर कानुनी प्रक्रिया पूरा नगरी परिवारलाई थाहा नदिनु गम्भीर शंका हो,” मोक्तानले भने।

श्रीमान् हराएपछि पाँच सन्तानको पालनपोषणको जिम्मेवारी मनमायाको काँधमा आयो। आर्थिक अभावले उनीहरू महिनौं नुनपानी खाएर बाँच्न बाध्य भए। छोराछोरीलाई पोखराको होटलमा काम गर्न पठाएर उनले घर चलाइन्।

अहिले जेठो छोरा राजु विदेशमा मजदुरको काम गर्दै परिवारलाई सहयोग गरिरहेका छन्। तर मनमायाको मुटुमा श्रीमान्को पत्तो नपाउने पिर ताजै छ।

“शान्ति सम्झौताले देशमा लोकतन्त्र ल्यायो, तर मेरो श्रीमान्को न्याय र सत्य खोज्ने कोही छैन,” मनमाया भन्छिन्।

द्वन्द्वको अन्त्य भए पनि श्रीमान्को अवस्था थाहा नपाउँदा मनमायाको पीडा घटेको छैन। उनले २० वर्षदेखि सरकार र सम्बन्धित निकायसँग श्रीमान्को खोजी गर्न माग गरिरहेकी छन्।

“मेरो प्राण त शान्तिमा जान्थ्यो, यदि सरकारले मेरो लोग्ने कहाँ छ भनेर बताइदिएको भए,” उनी भन्छिन्।

शान्ति सम्झौताले द्वन्द्वको घाउ मेट्ने आशा दिलाए पनि मनमायाजस्ता पीडितको न्यायको सवाल अझै अधुरै छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img