हेटौँडा | सूर्यदर्शन सहकारी कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको प्रहरीको फरेन्सिक रिपोर्टले पुष्टि गरेको छ। गोर्खा मिडियाको खातामा सूर्यदर्शन सहकारीबाट गएको एक करोड रुपैयाँको विवादमा लामिछानेको हस्ताक्षर नक्कली रहेको फरेन्सिक ल्याबको प्रतिवेदनले देखाएको हो।
०७७ सालको जेठ र असारमा गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ लामिछानेको नाममा कर्जा देखाइएको थियो। तर, प्रहरीको फरेन्सिक जाँचले कर्जासम्बन्धी दस्तावेजमा रहेको हस्ताक्षर लामिछानेको वास्तविक हस्ताक्षरसँग मेल नखाएको ठहर गरेको छ।
बुधबार कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसमा सरकारी वकिल कमला काफ्लेले विवादित कर्जा खाता कृत्रिम रहेको स्वीकार गरिन्। न्यायाधीश नीतिज राईले रवि लामिछानेको इन्कारी बयानलाई उल्लेख गर्दै उक्त रकमको वास्तविकता सोध्दा वकिल काफ्लेले फरेन्सिक प्रतिवेदन र अनुसन्धान प्रतिवेदनलाई समर्थन गर्दै तथ्य प्रस्तुत गरिन्।
निजी लाभमा रकम प्रयोग नभएको प्रमाण
अनुसन्धानका क्रममा प्रमाणित भएको छ कि सो रकम लामिछानेले कुनै पनि व्यक्तिगत बैंक खाता वा नगद माध्यमबाट प्रयोग गरेका छैनन्। लामिछाने पक्षका वकिलहरूले गोर्खा मिडियाको खातामा जम्मा भएको रकम लामिछानेले निजी रूपमा प्रयोग नगरेको र उनलाई ठगीको अभियोग लगाउनु उद्देश्यपूर्ण भएको जिकिर गरेका छन्।
फरेन्सिक प्रतिवेदन र न्यायालयमा प्रस्तुत प्रमाणहरूले लामिछानेको नाममा भएको कर्जा प्रकरणमा उनको प्रत्यक्ष संलग्नता नदेखिएको र हस्ताक्षर नक्कली भएको पुष्टि गरेको छ। अब यो विषयले कानुनी प्रक्रियामा कुन मोड लिनेछ, त्यो अदालतको आगामी निर्णयमा निर्भर रहनेछ।