Sunday, April 20, 2025
समाजकाठमाडौंमा राजावादी आन्दोलन उग्र, आगजनी, लुटपाट र कर्फ्यू
spot_img

काठमाडौंमा राजावादी आन्दोलन उग्र, आगजनी, लुटपाट र कर्फ्यू

भाटभटेनीमा तोडफोड, सञ्चारगृहमा आक्रमण, सेना परिचालन

काठमाडौं | राजावादीहरूको आन्दोलन हिंसात्मक बन्दै गएपछि काठमाडौंको तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू लगाइएको छ। शुक्रबार अपराह्न ४:२५ बजेबाट लागू भएको कर्फ्यू राति १० बजेसम्म कायम रहने छ। सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना समेत परिचालन गरिएको छ।

तीनकुनेबाट लखेटिएपछि राजावादीहरूको समूह कोटेश्वर पुगेको थियो। त्यहाँ उनीहरूले भाटभटेनी सुपर स्टोरमा आगजनी, तोडफोड र लुटपाट मच्चाएका छन्। आन्दोलनकारीहरूले सटर बन्द गरिएका भाटभटेनीबाट जबरजस्ती सामान उठाउँदै लगेका थिए। लुटपाटका क्रममा ढुंगामुढासमेत भएको छ।

राजावादीहरूको आन्दोलन हिंसात्मक बनेपछि प्रहरी र प्रदर्शनकारीहरूबीच तीनकुनेमा झडप भएको छ। प्रदर्शनकारीहरूले त्यहाँको एक घरमा आगजनी गरेका छन्। यस्तै, आन्दोलनकारीहरूले कान्तिपुर र अन्नपूर्ण पोस्टका कार्यालयमा समेत आक्रमण गरेका छन्। उनीहरूले कार्यालयका झ्यालका सिसा फुटाउनुका साथै तोडफोड गरेका छन्।

राजावादीका नाममा अराजक समूह बागमती नदी तरेर एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा पुगेको थियो। त्यहाँ उनीहरूले ढुंगामुढा गर्दै कार्यालयका कागजात बाहिर निकाली जलाएका छन्। यस्तै, कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगजनी गरिएको छ। आगलागीका कारण उद्योग परिसरमा रहेका आधा दर्जन सवारीसाधन जलेका छन्।

तीनकुनेमा झडपपछि राजावादी आन्दोलनका नेताहरू दुर्गा प्रसाईं, नवराज सुवेदी, धवल शमशेर र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र गाडी चढेर भागेका छन्। राजधानीका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश दिइएको छ भने प्रहरीले अराजक गतिविधि नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी का अनुसार तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। प्रहरीले अराजक समूहलाई नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ। तर, अहिलेसम्म राजधानीका विभिन्न भागमा प्रदर्शन जारी नै रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img