समाजरूखको ठुटोबाट पानी आएको भन्दै धार्मिक पर्यटकको घुइँचो

रूखको ठुटोबाट पानी आएको भन्दै धार्मिक पर्यटकको घुइँचो

कास्की । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा रहेको करिब तीन मिटर अग्लो रूखको ठुटोबाट पानीका धारा छुट्न थालेपछि स्थानीय र आगन्तुक दुवै अचम्ममा परेका छन्। गत फागुन १४ गते शिवरात्रिको दिनदेखि ठुटोको माथिल्लो भागबाट निरन्तर पानी झर्दै आएको हो।

स्थानीय बासिन्दा विश्क गुरुङका अनुसार, “तलको पानी माथितिर बग्दैन भन्ने परम्परागत भनाइलाई यो घटनाले चुनौती दिएको छ।” उनका अनुसार यो दृश्य हेर्न स्थानीय मात्र नभई देशभरका मानिस र केही विदेशी पर्यटकसमेत आउन थालेका छन्।

रुपातालको बाँध विस्तारको क्रममा माटो निकाल्दा एक डोजरको बकेट अड्किएको थियो। अर्को डोजर प्रयोग गर्दा बकेटको दाँतसमेत भाँचिएपछि माटो हटाउँदै जाँदा यो रूखको ठुटो भेटिएको हो। त्यही ठुटोबाट अहिले पानीका दुई धारामा निरन्तर झरिरहेकै दृश्य देखिएको छ।

स्थानीय ७६ वर्षीया सुनमाया परियारका अनुसार, यस क्षेत्रमा पहिल्यै पनि पानीको मूल थियो र नागहरू देखिन्थे। “कुवालाई गाउँरी मूल भनिन्थ्यो,” उनले भनिन्, “तर ती नागहरूले कसैलाई टोकेको सुनिएको थिएन।”

धार्मिक क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहेका गुरुङका अनुसार, “पानी झर्ने ठाउँमा शिव, नाग र जलदेवीको बासस्थान रहेको” धामी–झाँक्रीहरूले बताएका छन्। पछिल्लो समय दिनहुँ ७०० देखि १,००० भक्तजनले दर्शन र स्नान गर्ने गरेका छन्।

समितिका सचिव महेश थापाले भने, “हरेक १० मिनेटमा पानीको बहाव घट्ने–बढ्ने गर्छ। मैले टेकेर झन्डा राख्दा खुट्टा दुखेको र क्षमापूजा गरेपछि निको भएको अनुभव गरेको छु।”

हालसम्म भूगर्भविद् र संस्कृतिविज्ञसहित १५ जना विशेषज्ञ टोलीले स्थल अध्ययन गरिसकेका छन्। प्रारम्भिक अध्ययनअनुसार यो ठुटो झन्डै २०० वर्ष पुरानो जामुनको रूखको हो। प्रयोगशालाको रिपोर्टले ठुटोबाट निस्केको पानी पिउन योग्य रहेको देखाएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

उनका अनुसार, यस क्षेत्रमा पूर्णमोक्ष जलदेवीको रूपमा विकास गर्ने र चिसापानी देवी, कोटकालिका, हङ्सपुरकोटलगायत क्षेत्रसँगको धार्मिक सञ्जालमार्फत पर्यटकीय गन्तव्य बनाउने योजना छ।

दर्शनार्थीका लागि जुत्ता–चप्पल राख्ने, तारबार घेराबारा, र दानपेटिका जस्ता व्यवस्थाहरू मिलाइएको छ। हालसम्म ८५ हजार रुपैयाँ दान सङ्कलन भइसकेको छ।

“तालको पानी सतह बढ्दा पनि रूखको ठुटो जोगाउने गरी संरचना बनाउन जरुरी छ,” अध्यक्ष ओझाले भने, “हरिद्वार जस्ता स्थलहरूसँग तुलना गर्दै विस्तृत अध्ययन र संरक्षणमा लाग्नेछौं।”

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img