नयाँदिल्ली । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले भारतमा ९.७ मिलियनभन्दा बढी खातामाथि फेब्रुअरी २०२५ सम्ममा प्रतिबन्ध लगाएको छ। कम्पनीका अनुसार यो कारबाही ह्वाट्सएपको प्रयोग सन्दर्भमा तय गरिएका नियम उल्लङ्घन गर्नेहरूमाथि गरिएको हो।
ह्वाट्सएपको तर्फबाट जारी गरिएको फेब्रुअरी २०२५ सुरक्षा रिपोर्ट अनुसार, यीमध्ये १.४ मिलियन खाता प्रयोगकर्ताबाट कुनै उजुरी नआए पनि स्वचालित रूपमा प्रतिबन्धित भएका हुन्। भारतमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या ५० मिलियनभन्दा बढी रहेको छ।
ह्वाट्सएपका प्रवक्ताले बताएअनुसार, “हामीले आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत रिपोर्टिङ टुल्समा लगानी बढाएका छौं।” उनका अनुसार, प्रयोगकर्ताको सुरक्षालाई केन्द्रमा राख्दै स्प्याम, फेक गतिविधि र थर्ड पार्टी एप्समार्फत गरिएको दुरुपयोगमा कडा निगरानी गरिएको हो।
भारतको आईटी नियम २०२१ अनुसार, प्रयोगकर्ताहरूको उजुरीका आधारमा धेरै खाता प्रतिबन्धित गरिएको हो। स्वचालित पत्ता लगाउने प्रणालीले शंकास्पद गतिविधि ट्र्याक गर्ने क्षमता राख्छ।
स्प्याम, थर्ड पार्टी एप प्रयोग, प्रयोगकर्ताको अनुमति बिना ग्रुपमा जोडिने कार्य लगायतका उजुरीहरू आएका थिए। ह्वाट्सएपका अनुसार, यस्ता गलत गतिविधि नियन्त्रण गर्न प्रतिबन्धको निर्णय लिइएको हो।