देशकोशी प्रदेशसिक्रेटारमा कैलाश डाँडा र हरित हिलको संरक्षण तथा पर्यटकीय विकासमा तीव्रता

सिक्रेटारमा कैलाश डाँडा र हरित हिलको संरक्षण तथा पर्यटकीय विकासमा तीव्रता

भोजपुर  | भोजपुरको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्र, अरुण गाउँपालिका–७ सिक्रेटारस्थित कैलाश पर्वत र हरित हिलको संरक्षण तथा पर्यटकीय विकास कार्यले तीव्रता पाएको छ। पर्यटक आकर्षणको केन्द्र बन्न सक्ने यी स्थलहरूलाई व्यवस्थित गर्दै संरचनात्मक विकासको काम अगाडि बढाइएको हो।

स्थानीय तहको पहलमा सुरु गरिएको यो योजनाले कैलाश पर्वत र केही दुरीमा रहेको हरित हिललाई एकीकृत पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य लिएको छ। वडाध्यक्ष कुमार थापाका अनुसार, प्राकृतिक रूपमा मनमोहक यी पहाडहरूलाई पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्न संरचना निर्माणको काम सुरु भइसकेको छ।

“कैलाश डाँडाको संरक्षणका लागि पदमार्ग बनाउने कार्य तीव्र गतिमा अघि बढेको छ,” वडाध्यक्ष थापाले बताए, “साथै, डाँडाबाट हरित हिलसम्म पुग्न पदमार्ग निर्माणसमेत भइरहेको छ।” उनका अनुसार, प्रदेश सरकारबाट प्राप्त ५ लाख रुपैयाँको बजेट उक्त कार्यमा खर्च गरिएको हो।

थापाका अनुसार, केवल प्राकृतिक स्थल मात्र नभई यस क्षेत्रका गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिर जस्ता धार्मिक स्थललाई पनि समेटेर एकीकृत पर्यटकीय क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइएको छ। त्यस्तै, पर्यटकका लागि थप आकर्षण थप्ने उद्देश्यले वडा कार्यालय नजिकै १० लाख रुपैयाँको लागतमा बाल उद्यान निर्माणसमेत सम्पन्न भएको छ। यस बाल उद्यानले पारिवारिक पर्यटकहरूलाई आकर्षण गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

स्थानीयवासी टेकबहादुर बस्नेतका अनुसार, अतीतमा उपेक्षित रहँदै आएको यो क्षेत्र संरक्षणको चरणमा पुगेपछि उत्साह थपिएको छ। “स्थानीय सरकारले जुन सक्रियता देखाएको छ, त्यो निकै सराहनीय छ,” उनले भने, “पहिला संरक्षणविहीन बनेका यी ऐतिहासिक तथा धार्मिक स्थलहरू अहिले पुनः उजागर हुँदैछन्।”

अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले पनि परियोजनाको महत्त्वमा जोड दिँदै भने, “यी क्षेत्रहरूको समुचित विकासपछि आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने विश्वास लिएका छौं।” उनका अनुसार, कैलाश डाँडा र गौरीशंकर मन्दिरमा प्रत्येक वर्ष भव्य मेला लाग्ने गर्छ, जसमा स्थानीयवासी मात्र नभई छिमेकी जिल्लाबाट पनि दर्शनार्थीहरू सहभागी हुन्छन्।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र स्थानीय नेतृत्वको समन्वयले सिक्रेटार क्षेत्रलाई निकट भविष्यमा भोजपुरको प्रमुख पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img