काठमाडौं | सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै डा. विश्वनाथ पौडेल, दिनेश भट्टराई र कायममुकायम गभर्नर नीलम ढुंगानको नाम सिफारिस गरेको थियो ।
जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति अनुसार राष्ट्रिय योजना आयोका पूर्वउपाध्यक्ष पौडेललाई गभर्नर नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले बताए ।
गत चैत २२ गतेदेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेले जारी राखेको उल्टो अभ्यास बल्ल टुंगोमा पुर्याएका छन् ।
चैत २२ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा भएयता नयाँ गभर्नर छान्न नसकेर आफ्नो अक्षमता छताछुल्ल पारेका दुई दलले त्यो क्रमलाई मंगलबारसम्म निरन्तरता दिएर डा. विश्व पौडेलको नाममा सहमत भएका थिए । यद्यपि पौडेललाई नेपाली कांग्रेसको कार्यकर्ताको आरोप लाग्ने गरेको छ । उनी २०७९ को चुनावमा चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका पात्र हुन् ।
सोमबार र मंगलबार दुई दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको चरणबद्ध छलफलपछि गभर्नरमा २०७९ सालमा प्रतिनिधिसभाको चुनावमा पराजित विश्व पौडेलको नाम टुंगिएको थियो ।



