बागमती प्रदेशमकवानपुरएमाले मकवानपुरले बनायो २७ सदस्यीय स्वयम्सेवक उपसमिति, ‘प्रोग्रेसिभ ईन्जिनियरिङ’लाई प्राविधिक जिम्मेवारी

एमाले मकवानपुरले बनायो २७ सदस्यीय स्वयम्सेवक उपसमिति, ‘प्रोग्रेसिभ ईन्जिनियरिङ’लाई प्राविधिक जिम्मेवारी

हेटौँडा | साउन ७ मा रोयल पार्टी प्यालेसमा हुने जनसांस्कृतिक साँझ ‘स्वर समर्पण’को तयारीलाई नेकपा एमाले मकवानपुरले तीव्र बनाएको छ।

एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्ला कमिटीको व्यवस्थापनमा आयोजना हुन लागेको कार्यक्रमको समग्र व्यवस्थापनका लागि २७ सदस्यीय स्वयम्सेवक व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको हो। पार्टी जिल्ला स्वयंसेवक विभाग सचिव सुरेश बेरोजगार संयोजक रहनेगरी गठन गरिएको उपसमितिमा एमालेसँग सम्बन्धित १० वटा जनसंगठनबाट दुई-दुई जना तथा स्वयंसेवक विभागबाट ७ जना प्रतिनिधि चयन गरिएको जनाइएको छ।

सांस्कृतिक साँझ ‘स्वर समर्पण’ नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको हो। कार्यक्रममा जनवादी गीत, नाटक, कविता, नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरू रहने जनाइएको छ।

कार्यक्रमका प्राविधिक पक्ष— स्थल सजावट, डिजिटल प्रचार सामग्रीको डिजाइन र अन्य व्यवस्थापनको जिम्मेवारी प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसनलाई दिइएको छ। तयारी बैठक जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको अध्यक्षता तथा एमाले मकवानपुर जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

बैठकमा पार्टी जिल्ला सदस्य तथा स्वयंसेवक विभाग प्रमुख शिवहरी दाहाल, जिल्ला सदस्यहरू दिलु घर्ती, आकाश अधिकारी, सुमित्रा चौलागाईं, जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउतलगायत जनसंगठनहरूका अध्यक्षहरूको उपस्थिति रहेको थियो। बैठकमा अध्यक्ष राउतले जनवादी गीत र सांस्कृतिक तयारीबारे जानकारी गराएका थिए।

पार्टी जिल्ला सचिव सिता विष्टले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका मूल प्रवाहका संस्थापक रहेको उल्लेख गर्दै उनको योगदानलाई स्मरण गर्ने उद्देश्यले सांस्कृतिक साँझलाई भव्यता दिन सबै तहबाट सक्रियता आवश्यक रहेको बताइन्।

यसै सन्दर्भमा एमाले मकवानपुरले विगतका वर्षझैं यस वर्ष पनि साउन ७ गते बिहान ७ बजे पुष्पलाल श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने तयारी गरेको छ। पार्टी सचिव विष्टका अनुसार मकवानपुरका सम्पूर्ण पार्टी पंक्ति, जनसंगठन र शुभेच्छुकहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img