बागमती प्रदेशमकवानपुरहेटौँडाबाट चार जना सडक आश्रितको उद्धार

हेटौँडाबाट चार जना सडक आश्रितको उद्धार

हेटौँडा | मानव सेवा आश्रम हेटौँडाले शनिबार राति हेटौँडा बजार क्षेत्रमा रात्रीकालीन सडक सेवा अभियान सञ्चालन गर्दै चार जना सडकमा आश्रित नागरिकको उद्धार गरेको छ।

सप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यस सेवामार्फत बेवारिसे, घरवारविहीन तथा मानसिक असन्तुलनमा रहेका व्यक्तिहरूको उद्धार गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य उपचार तथा सामाजिक पुनःस्थापनाको व्यवस्था गरिँदै आएको आश्रमले जनाएको छ।

शनिबारको अभियानमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी, नगर प्रहरी, जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीहरू तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

उद्धार टोलीले सिमाचोकदेखि बसपार्क, राप्ती रोड हुँदै स्वर्गद्वारी क्षेत्रसम्मको सडक खण्डमा सेवा सञ्चालन गरेको थियो।

मानव सेवा आश्रम मकवानपुर शाखाका अनुसार अभियानका क्रममा एक बालिका, दुई महिला र एक  पुरुषसहित कुल चार जनालाई उद्धार गरिएको हो। उनीहरूलाई आश्रममा लगेर नुहाइधुवाइ, खाना, स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा प्रदान गरिएको संस्थापक अध्यक्ष अधिकारीले जानकारी दिए।

उनका अनुसार उक्त अभियानमा देशका २२ वटा जिल्लाबाट आएका मानव सेवाका जिल्ला संयोजकहरूको पनि उपस्थिति रहेको थियो।

अभियानका क्रममा हेटौँडा उपमहानगर प्रमुख मिना कुमारी लामाले, “हेटौँडालाई छिट्टै ‘सडक मानवमुक्त शहर’ घोषणा गर्ने तयारीमा छौं,” भन्दै मानव सेवा आश्रमको सक्रियता र भूमिकाको प्रशंसा गरिन्।

उनका अनुसार उपमहानगरपालिकाले हालसम्म एकल महिला, असहाय तथा परिवारविहीन नागरिकहरूलाई आवास दिनका लागि १२ वटा घर उपलब्ध गराइसकेको छ। “घरवारविहीन नागरिकहरूको अभिभावकत्व लिनु हाम्रो जिम्मेवारी हो,” उनले थप भनिन्।

लामाले मानव सेवा आश्रमको केन्द्रीय कार्यालय स्थापनाका लागि उपमहानगरपालिकाले आवश्यक जग्गा समेत उपलब्ध गराइसकेको जानकारी दिइन्।

मानव सेवा आश्रमले मुलुकभर मानसिक असन्तुलनमा रहेका, परिवारबाट छुट्टिएका तथा सडकमा जीवन बिताइरहेका नागरिकहरूको उद्धार र पुनःस्थापनामा काम गर्दै आएको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा सामाजिक अभियन्ताहरूको सहकार्यमा आश्रमले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सेवाहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img