हेटौँडा । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। आइतबार राति करिब १:५० बजे विशेष सूचनाका आधारमा हेटौँडा उपमहानगरपालिका–३, च्यानडाँडाको भित्री जंगलमा गरिएको प्रहरी कारबाहीमा करिब दुई क्विन्टलभन्दा बढी गाँजा बरामद भएको हो।
प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीलाई देख्नेबित्तिकै गाँजा बोकेर आउँदै गरेका करिब ७–८ जना मानिसहरूले भारी फालेर जंगलतर्फ भागेका थिए। त्यस क्रममा प्रहरीले स्थलमै छोडिएको गाँजा नियन्त्रणमा लिएको हो।
बरामद गरिएको गाँजाको तौल २१२ किलो ८६० ग्राम पुगेको प्रहरीले जनाएको छ। हाल फरार रहेका व्यक्तिहरूको पहिचान र पक्राउका लागि खोजी कार्य जारी छ।
प्रहरीका अनुसार बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।



