मकवानपुरबकैया गाउँपालिकाबकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन तैयार

बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन तैयार

मकवानपुर | पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्माण सम्पन्न चारतले प्रशासनिक भवन अब औपचारिक रूपमा सेवा सञ्चालनमा आउने तयारी भएको छ। बकैया–३ हात्तीसुढेमा बनेको आधुनिक सुविधा सम्पन्न भवनलाई मंसिर १० गते विशेष समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम गाउँपालिकाले तय गरेको छ।

चार वर्षअघि सुरु गरिएको निर्माण अब पूर्ण रूपमा सकिएको गाउँपालिकाले जनाएको छ। नयाँ भवनमा २८ वटा कार्यकक्ष, दुईवटा सभाहल, सेवाग्राही कक्ष, भान्सा, स्टोर, शौचालय, पार्किङ र प्रमुख प्रशासकीय अधिकृतका लागि आवासीय सुविधा समेत व्यवस्था गरिएको छ। कार्यालय अहिले ट्रस्टको भवनबाट सेवा दिँदै आएको छ, तर उद्घाटनपछि सबै सेवा क्रमशः नयाँ भवनमा सारिने बताइएको छ।

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार स्थानीयले वर्षौँ देखिको अपेक्षा अब पूरा हुन लागेको छ। “स्थायी र व्यवस्थित भवन नहुँदा बैठकदेखि दैनिक सेवामा धेरै चुनौती थियो। अब नयाँ संरचना सञ्चालनमा आएपछि कार्यालयीय कामकाज धेरै सहज हुन्छ,” उनले भने।

भवन निर्माणका लागि २०७९ जेठ ३१ गते सम्झौता भएको थियो। संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट योगदान गरेको परियोजना तोकिएको समयभन्दा ढिलो भए पनि गत भदौ ३१ गते पूर्ण रूपमा सम्पन्न भएको हो।

सम्झौताअनुसार प्रारम्भिक लागत अभिवृद्धिकरसहित ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ निर्धारण गरिएको थियो। निर्माण विस्तार र परिमार्जनका कारण लागत बढेर ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको गाउँपालिकाले जनाएको छ।

उद्घाटनपछि बकैया गाउँपालिका पूर्ण व्यवस्थापनसहित आधुनिक प्रशासनिक भवनबाट सेवा प्रवाहमा प्रवेश गर्दैछ, जसले स्थानीय तहको कामकाज र सेवाग्राही पहुँचमा उल्लेख्य प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img