मकवानपुर | मकवानपुरको मनहरी गाउँपालिकाले उद्योग दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातको अवसरमा मंगलबार सचेतना र्याली निकाल्दै महिला उद्यमी समूहलाई पुरस्कृत गरेको छ। अभियानको सुरुवात र उद्योग दिवस एकसाथ मनाइएको थियो।
मनहरी गाउँपालिका १ स्थित रजैयाबाट सुरु भएको सचेतना र्याली गाउँपालिकाको सभाहल लामिटारमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा उत्कृष्ट महिला उद्यमी समूहलाई सम्मान गरिएको थियो। मनहरी ७ मा रहेको क्रियाशील महिला लघु उद्यमी समूह प्रथम घोषित भई नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको थियो। त्यस्तै ६ नम्बर वडाको पारिजात महिला उद्यमी समूह दोस्रो (१२ हजार), मनहरी ५ को हरियाली महिला लघु उद्यमी समूह तेस्रो (९ हजार), मनहरी १ को चकरी महिला लघु उद्यमी समूह चौथो (६ हजार) र मनहरी ३ तथा ४ का प्रगतिशील लघु उद्यमी समूहलाई सान्त्वना पुरस्कार (४÷४ हजार) प्रदान गरिएको थियो।
कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा भएको थियो भने अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथि थिए। कार्यक्रममा प्रशासन प्रमुख अन्जना सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबा, बाल अधिकार समिति सदस्य देवकी ढुङ्गानालगायतले मन्तव्य व्यक्त गरेका थिए।



