हेटौँडा । सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा आगामी मंसिर २६ र २७ गते हेटौँडा उपमहानगरपालिका–८, कमानेस्थित शुभम् पार्टी प्यालेसमा आयोजना हुने भएको छ।
संस्थाका अध्यक्ष रामबहादुर बस्नेतका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाबाट गरिनेछ। करिब ३ हजार सदस्य रहेको सहकारीले बचत तथा ऋण सेवासँगै २०७६ सालदेखि तेलमेल सञ्चालन गर्दै आएको छ। हाल यसले तेल, चामल, पिठो, नून, बेसारसहित विभिन्न घरायसी र खाद्यान्न सामग्री उत्पादन गरी बिक्री–वितरण गर्दै आएको छ।
साधारण सभामा सदस्य र स्थानीय बासिन्दालाई उत्पादन र सेवासम्बन्धी जानकारी दिन ५० वटा प्रदर्शन स्टल राखिनेछ। स्टलमार्फत सहकारीले उत्पादन गरेका सामग्रीको प्रदर्शनीका साथै मनपर्ने वस्तु सहजै किन्न सकिने व्यवस्था गरिएको संस्थाका उत्पादन समिति संयोजक प्रेम अधिकारीले जानकारी दिनुभयो।



