- अशेष अधिकारी
भनिन्छ कि डिप्रेसन भनेको दिमागमा विभिन्न केमिकलहरूको असन्तुलन हुनु हो। तर डिप्रेसन भनेको वास्तवमा दिमागको मात्र नभएर मनको बिमार हो। यसको उपचार गर्न मनको स्तरसम्म जानुपर्ने हुन सक्छ।
डिप्रेसन भन्ने कुरा केही क्षणमा घट्ने होइन। यो घटित हुनको लागि पनि धेरै वर्ष लागेको हुन्छ। डिप्रेसन भनेको एउटा वृक्ष हो जुन फैलिन्छ, बढ्छ र ठूलो हुन्छ। भनिन्छ कि जसले डिप्रेसनलाई जित्न सक्छ उसले सारा संसारलाई जित्न सक्छ।
यदि डिप्रेसनमा हुनेहरू परिवारसँग छन् भने त उनीहरूलाई समयमै उपचारको व्यवस्था हुन सक्छ। तर जो विदेशमा आफ्नो परिवारभन्दा टाढा छ र डिप्रेसनमा गएको छ, उसलाई कसैको पनि सहयोग मिल्दैन। डिप्रेसनमा गएका मानिसहरूले क्षणिक समयको आनन्दको लागि कुलतमा फस्ने गरेका छन्। यसले मानिसको डिप्रेसन निको हुनुको सट्टा अझै बढ्दै र बल्झँदै जान सक्छ।
हामी कसैलाई डिप्रेसन भएको छ भन्ने सुन्यौँ भने ऊप्रतिको हाम्रो धारणा नै परिवर्तन हुन्छ। उनीहरूलाई हामी सधैँ गिराउन र होच्याउन चाहन्छौँ। तर कसैले पनि यो कुरा बुझेका छैनन् कि डिप्रेसन जो कोहीलाई पनि हुन सक्छ। पृथ्वी गोलो भएकाले आफैँलाई पनि कुनै दिन डिप्रेसन हुन सक्छ।
डिप्रेसनमा भएका मानिसहरू धर्तीका बोझ होइनन्, धर्ती चाहिँ उनीहरूको लागि बोझ बन्न पुग्छ। यो संसारमा धेरै पक्षहरू छन् जसले मानिसको चेतनाको स्तरलाई दबाइरहन्छ। अन्त्यमा मानिस आत्मग्लानि र नकारात्मक आत्मसुझावको चपेटामा पर्न पुग्छन्। यस्तालाई समाज र राष्ट्रले उठाउनेभन्दा पनि अझै दबाउने काम गरिरहेका छन्।
मानिसहरूमा मनोविज्ञानको ज्ञानको कमी छ। मनोविज्ञानको ज्ञान नभएको कारणले गर्दा मानिसहरू अरूलाई त के, आफैँलाई समेत चिन्न सक्दैनन्। एउटा मानिसले अर्को मानिसको भावना बुझ्न नसक्दा छेउमै भएका साथीभाइहरूबिच पनि एकआपसमा दरार उत्पन्न हुन्छ। उनीहरू आफ्ना मानिसहरूलाई आफ्नो अर्को रूप देखाउन बाध्य हुन्छन्।
डिप्रेसनमा जाने मानिसले धेरै दुःख, सास्ती, अन्यायहरू भोगेको हुन सक्छ। त्यो केही दिनको लागि मात्र नभएर कयौँ वर्षदेखि भोगिरहेको हुन सक्छन्। दसौँ वर्षसम्म अनेक मानसिक यातना भोगेपछि बल्ल डिप्रेसन हुन्छ।
डिप्रेसन केवल साधनाबाट मात्र ठीक हुँदैन। यसको लागि औषधि पनि सेवन गर्नुपर्ने हुन्छ। तर हामी औषधिको साइड इफेक्टले बिरामीहरूको जीवनशैलीमा ठोस दबाब परेको थुप्रै उदाहरणहरू भेट्न सक्छौँ। ध्यान साधनाले बिरामीलाई धेरै सहज बनाउने कुरा विभिन्न आध्यात्मिक व्यक्तिहरूबाट सुन्न सकिन्छ।
डिप्रेसन भन्ने कुरा कुन क्षणमा कसरी हुन्छ, त्यसबारे सबैजना अनजान हुन्छन्। हामीले मानिसको बाहिरी आवरण मात्र देख्ने भएकाले डिप्रेसन भएको मानिस र नभएको मानिस छुट्याउन मुस्किल पर्छ। तपाईँको वरपर पनि डिप्रेसनमा भएका मानिसहरू कयौँ वर्षसम्म बिना जानकारी घुमिरहेका हुन्छन्। कोही मानिस चाहिँ डिप्रेसनमा भएर पनि कसैलाई थाहा नदिन खोज्छन्।
आजभोलि टेक्नोलोजीको विकाससँगै युवा वर्गहरू विभिन्न ग्याजेटमा झुम्मिन थालेका छन्। प्रकृतिसँग टाढा भएसँगै मानिसहरू भित्री मनोभावमा हराउन थाल्छन्। यसले गर्दा डिप्रेसनसम्म पुग्ने आयाम खोलिन सक्छ। प्राय: युवा वर्गबारे मानिसहरूमा गलत धारणा छ। धारणा यस्तो छ कि केवल माया प्रेममा बिछोड भएको बेला मात्र मानिसहरू डिप्रेसनमा जान्छन्।
देख्नेलाई एक दुई दिनमा डिप्रेसन भएजस्तो लाग्छ तर त्यसको पछाडि लामो कहानी हुन्छ। जुन कहानी सुन्दा मानिसको आँखाबाट आँसु आउन थाल्छ। डिप्रेसनबारे आफ्नो कहानी सुनाउँदा एउटा महाकाव्य सृजना हुन सक्छ।
हामीले मानिसलाई देख्दा उसको वर्तमान देख्छौँ, उसको व्यक्तिगत विगत देख्दैनौँ र जब उसलाई डिप्रेसन हुन्छ तब उसलाई बौलाहा भन्छौँ। तब उसलाई श्रापित मानिस भन्छौँ। जुन दिनबाट डिप्रेसनमा भएकालाई हामी बौलाएको भन्छौँ, कुरा बुझ्नुहोस् कि त्यो दिनबाट यो संसारमा मानवता भन्ने कुरा छैन।
फेरि एक पटक भन्छु कि बुझ्नुहोस् त्यो दिनबाट संसारमा मानवता भन्ने कुरा छैन।