काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई शिक्षामा कम बजेट छुट्याएको भन्दै कटाक्ष गरेका छन् ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बुधबार पाण्डेले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट छुट्याउँदा कमिसन नपाइने भएकाले बजेट नछुट्याएको हो भन्दै शर्मालाई प्रश्न गरे ।
‘केही समयअगाडि यहाँले के भन्नुभएको थियो जस्तो लाग्छ भने शिक्षा र स्वास्थ्यमा मन्त्रीहरूले पैसा हाल्दैनन् । किनभने त्यहाँबाट कमिसन आउँदैन,’ उनले भने, ‘तर, तपाईंले पनि त्यहाँ बस्दा शिक्षामा पैसा त बढाउनु भएन नि ?’
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढ्नुपर्नेमा झन् घटेको भन्दै सरकारको आलोचना गरे ।
‘११ प्रतिशतभन्दा कम पैसा १० दशमलव ९ प्रतिशत मात्र हाल्नुभयो । उच्च शिक्षाको हाम्रो जुन खालको कमजोर हालत छ त्यो हालतलाई तपाईंहरूले ध्यानमा राखेर बजेट छुट्याउनै भएको छैन,’ उनले प्रश्न गरे, ‘के त्यसमा तपाईंहरूले पनि कमिसन नदेखेर नछुट्याउनु भएको हो ?’