काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रचण्ड र ओलीबीच तीन बुँदे सहमति भएको एक प्रभावशाली मन्त्रीले जानकारी दिए ।
मन्त्रीका अनुसार सहमतिको पहिलो बुँदा दुई नेताले प्रधानमन्त्रीको कार्यकाल परिवर्तन गर्ने हो । त्यसैगरी, सहमतिको दोस्रो बुँदामा यो संसद् पाँच वर्षसम्म चल्ने र बीचमा संसद विघटन नहुने व्यवस्था छ । तेस्रो बुँदामा मन्त्रीले आगामी निर्वाचनसम्म यो गठबन्धन कायम राख्न दुई नेताबीच सहमति भएको खुलासा गरे ।
अहिलेको संसद् पाँचै वर्ष चल्छ वा चल्दैन भन्ने संशयका बीच ओली–प्रचण्डले भद्र सहमति गरेकाले अब यो गठबन्धनमा समेत विश्वासको वातावरण बनाउने प्रयास हुने ती मन्त्रीको भनाई छ । ‘अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएर सबैको स्वामित्व लिने वातावरण बनाइनेछ,’ उनले भने, ‘आमजनतामा व्यापक निराशा भएकाले न्यूनतम साझा कार्यक्रम बनाएर अल्पकालीन र दीर्घकालीन काम गर्ने योजना पनि बनाइनेछ ।’
तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरेपछि तत्कालीन नेकपा विभाजन भएको थियो । नेकपा विभाजन भएपछि प्रचण्ड र माधव नेपाल पक्ष नेपाली कांग्रेससहितको नयाँ मोर्चा बनाएका थिए । पाँच दलीय मोर्चाबाटै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरू चुनावमा सहकार्य गरेर सहभागी भएका थिए । उता एमालेले पनि साना दलहरू गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रेको थियो ।
तर नेपाली कांग्रेसले पूर्वसहमति विपरीत प्रधानमन्त्री र राष्ट्रपति दुवै माओवादीलाई दिन अस्वीकार गरेपछि प्रचण्ड र ओली एक ठाउँमा आउने वातावरण बनेको हो ।



