देशगण्डकी प्रदेशगण्डकी प्रदेश: माओवादीबाट रेशम जुग्लालीलाई मन्त्री बनाउने निर्णय

गण्डकी प्रदेश: माओवादीबाट रेशम जुग्लालीलाई मन्त्री बनाउने निर्णय

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ ।

पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् ।

माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले पार्टीको गण्डकी प्रदेश संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको पुष्टि गरिन् । ‘म आफैं पनि दलको बैठकमा प्रदेश अध्यक्षको हैसियतमा पुगेकी थिएँ । जुग्जालीलाई मन्त्री बनाउने निर्णय भएको सत्य हो’, गुरूङले भनिन् ।

माओवादीका तर्फबाट यसअघि तनहुँ-२(२) बाट निर्वाचित हरिबहादुर चुमान विना विभागीय मन्त्री बनेका छन् । प्रदेश सरकारले सोमबार बिहान मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा बनाउने निर्णय गरेको थियो ।

२५ पुसमा नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले सोही दिन माओवादीका चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । सरकारमा सहभागी दलहरुबीच एमालेले ४, माओवादीले २ र राप्रपाले एक मन्त्री लिने समझदारी बनेको छ ।

माओवादीबाट जुग्जालीका अलावा गोरखाकी सुशीला सिम्खडा र माओवादीको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा मन्त्रीको आकांक्षी थिए ।

गत चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको माओवादीले म्याग्दीमा भने गठबन्धनबाट दुईवटै निर्वाचन क्षेत्र जितेको थियो । समानुपातिकतर्फ पनि २०७४ को तुलनामा म्याग्दीमा माओवादीको मत बढेको थियो । सोही आधारमा म्याग्दीले सरकारमा सहभागिता पाउनुपर्ने दावी गरिएको थियो ।

मालिका गाउँपालिका वडा नम्बर ७ बिमका जुग्जाली माओवादी सशस्त्र युद्धमा भूमिगत भएका नेता हुन् । २०५८ मा पार्टीको जिल्ला सचिव भएका उनी २०६१ मा इलाका इञ्चार्ज भएका थिए । माओवादी सेनामा कम्पनी कमिसार हुदै बटालियन भाइस कमान्डर भएका उनी पार्टी शान्ति प्रक्रियामा आएपछि २०६३ मा वाइसीएलको जिल्ला सचिव र २०६६ मा माओवादीको तत्कालीन मगरात राज्य कमिटी सदस्य बने ।

माओवादी फुटेपछि मोहन वैद्यसँगै पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका जुग्जाली २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । जुग्जाली पछिल्लो समय माओवादीको जिल्ला संयोजक थिए ।

२०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा जुग्जाली माओवादी केन्द्रबाट मालिका गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए तर पराजित भए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img