सुनसरी : कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको हो ।
नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको १७४ दिनमा बहिर्गमन भएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभामा राखेको प्रस्ताबको पक्षमा ४६ मत मात्र प्राप्त भएको छ । विपक्षमा भने ४५ मत खसेको प्रदेश सभाका सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए ।
मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ प्रदेश सभा सदस्यले मत हालेका छन् । विपक्षमा भने काङ्ग्रेसका २९, माओवादीका १२ र एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्यले मत हालेका छन् । कोशी प्रदेश सभामा बहुमत पाउन ४७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ ।
बिहीबारदेखि सुरु भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको लागि प्रस्ताव दर्ता भएपछि छलफलकै क्रममा बैठक स्थगित भएपछि आज मत विभाजन भएको हो ।
प्रदेशसभाबाट विश्वसको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपनि अर्को सरकार गठन नभएसम्म यही सरकारले निरन्तरता पाउने भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा (३) कमोजिमयही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।