काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे मंगलबार बिहान बालुवाटार पुगेर जानकारी गराउँदै ओलीले यस्तो बताएका बालुवाटार स्रोतले जानकारी दिएको हो।
बालुवाटार स्रोतका अनुसार ओलीले भनेका छन्, “म दुई तिहाइ सरकारको प्रधानमन्त्री बन्दैछु। अब बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुनेछ। त्यसमा तपाईंको पनि महत्वपूर्ण भूमिका रहोस् भन्ने हाम्रो चाहना छ।” सोमबार मध्यराति सवा १२ बजे कांग्रेस-एमालेबीच सरकार बनाउने सहमति भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन्।
प्रचण्डलाई राजीनामा दिन सुझाव दिँदै ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहभागिता जनाउन आग्रह गरेका छन्। यस सहमतिले नेपाली राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको छ।