काठमाडौं | सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीको गिरफ्तारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्भावित गिरफ्तारीको चर्चाले पार्टीमा तरंग ल्याएको छ।
सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र लामिछानेले समेत हस्ताक्षर गरेर खर्च गरेको ठहर गरेपछि कानूनी कारबाहीको सिफारिस गरेको थियो। यसै सिफारिसका आधारमा छविलाल जोशीलाई पक्राउ गरिएको र लामिछानेलाई पनि गिरफ्तार गर्न सक्ने आशंका गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार लामिछानेलाई सम्भावित गिरफ्तारीबारे सूचित गरिएको छ। कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी टोली खटाइएको जानकारी प्राप्त भएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै रास्वपाले आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला बोलाएको छ। पार्टीले आन्तरिक रणनीति बनाउन थालेको छ। हाल लामिछाने बनस्थलीस्थित पार्टी कार्यालयमा नेताहरूसँग आन्तरिक छलफलमा व्यस्त रहेका छन्।
पार्टी कार्यालय अगाडि कार्यकर्ता र लामिछानेका शुभचिन्तकहरूको बाक्लो उपस्थिति देखिएको छ। सम्भावित गिरफ्तारीको खबरले रास्वपामा हलचल मच्चाएको छ र पार्टी नेतृत्व आगामी कदमबारे गम्भीर छलफलमा जुटेको छ।