हेटौँडा | बागमती प्रदेश सरकारका चार जना मन्त्रीले शुक्रबार एकैसाथ पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ‘ह्वाट्सएप’मार्फत राजीनामा पठाइएको स्रोतहरूले पुष्टि गरेका छन्।
राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन्।
चारै मन्त्रीले साझा रूपमा तयार पारेको राजीनामा पत्रमा भनिएको छ,
“विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुने गरी प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएको छु।”
उनीहरूले आफ्नो कार्यकाल अवधिभरको सहयोगप्रति मुख्यमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।
स्रोतका अनुसार, मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । जसको ड्राफ्ट तयार भइसकेको छ । यता बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशमा मुख्यमन्त्री आफ्नो स्वास्थ्यमा गम्भीर समस्या आउनु वा मृत्यु भएमा मात्र आफू पदबाट हट्ने र मुख्यमन्त्री परिवर्तन हुने बताएपछी आक्रोसीत भएका नेपाली कांग्रेसका असन्तुष्ट सांसद र मन्त्रीहरुले उहाँलाई जसरी पनि हटाउने तयारी अनुसार चार जना मन्त्रीले राजिनामा दिएका हुन् ।



