देशबागमती प्रदेशमुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदबाट अविश्वास प्रस्ताव

मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदबाट अविश्वास प्रस्ताव

 हेटौँडा | बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका कांग्रेस नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध उनकी पार्टीभित्रैबाट अविश्वास प्रस्ताव दर्ता गरिएको छ। कांग्रेस संसदीय दलको नेता परिवर्तनको प्रयासस्वरूप यो प्रस्ताव दर्ता गरिएको हो।

प्रदेश कांग्रेस संसदीय दल कार्यालयमा बिहीबार कांग्रेसका २१ सांसदले हस्ताक्षर गरेको अविश्वास प्रस्ताव दर्ता भएको हो। यो कदमसँगै लामाको मुख्यमन्त्री पद धरापमा परेको छ।

प्रस्तावमा हाल मन्त्रिपरिषद्‌मा रहेका चार जना मन्त्रीसहित २१ जना सांसदले हस्ताक्षर गरेका छन्। प्रस्ताव दर्ता गर्नु अघि पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरुको बैठक बसेको थियो। त्यसै बैठकबाट लामालाई हटाउने निर्णय भएको हो।

प्रस्ताव नेतृत्व गरेका इन्द्रबहादुर बानियाँ स्वयं सत्ताको प्रतिस्पर्धी पात्र हुन्। उनले लामो समयदेखि नेतृत्व हस्तान्तरणको माग गर्दै आएका थिए। पार्टी सभापति शेरबहादुर देउवाले समेत सरकारको नेतृत्व परिवर्तन गर्न स्पष्ट निर्देशन दिएको स्रोतले जनाएको छ।

मुख्यमन्त्री लामाको नेतृत्वमा ल्याइएको आगामी आर्थिक वर्षको बजेटबारे संसदीय दलमै असन्तुष्टि देखिएको थियो।

‘मुख्यमन्त्रीले पार्टी परामर्श बेगर बजेट ल्याए, मन्त्री छनोटदेखि प्राथमिकता निर्धारणसम्ममा गम्भीर चित्त नबुझ्दो व्यवहार देखिए,’

एक सांसदले भने, ‘त्यही भएर नेतृत्वमा परिवर्तन अपरिहार्य बन्यो।’

अविश्वास प्रस्ताव दर्ता हुनु अगावै कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्‌मा रहेका चार मन्त्रीले राजीनामा बुझाएका छन् । राजीनामा मुख्यमन्त्रीलाई ह्वाट्सएपमार्फत पठाइएको बताइएको छ।

मुख्यमन्त्री लामा भने अहिलेको अवस्थामा पद नछाड्ने अडानमा छन्।

बुधबार प्रधानमन्त्री देउवाले लामा र बानियाँलाई छुट्टाछुट्टै भेट गरी सहमतिको प्रयास गरेका थिए। तर लामाले ‘अहिले नेतृत्व हस्तान्तरणको आवश्यकता छैन’ भन्ने अडान राखेपछि बानियाँ समूहले अविश्वास प्रस्तावको बाटो रोजेको हो।

२०७९ पुस १३ मा भएको संसदीय दल निर्वाचनमा लामा र बानियाँबीच प्रतिस्पर्धा भएको थियो। त्यसबेला लामाले २१ मत प्राप्त गर्दै बानियाँलाई ५ मतले हराएका थिए।

‘त्यसबेला पनि हामीले नेतृत्व एक वर्षको लागि मात्र दिने मौखिक सहमति गरेका थियौं,’ एक सांसदले भने, ‘तर लामा त्यसबाट पछि हटे, अहिले हामी नियम अनुसार अघि बढेका हौं।’

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img