हेटौँडा | बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय बिहीबार बालुवाटारसम्म पुगेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका शीर्ष नेताबीच यसबारे गहन छलफल भएको हो।
बैठकमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए। छलफलमा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन लगाउने विकल्पसमेत टेबलमा आएको स्रोतको दाबी छ।
सहभागी एक नेताका अनुसार देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएका छन्। लामा पनि काठमाडौं आउँदै गरेको र ‘टिमसँग छलफल गरेर मात्र निर्णय लिने’ बताएका छन्।
बैठकमा एमालेले ‘पहिले कांग्रेसले आन्तरिक विवाद मिलाओस्’ भन्ने धारणा राखेको थियो। तर, देउवाको आग्रह नमाने एमालेले समर्थन फिर्ता गर्दै सरकार छाड्नेसम्मको विकल्पबारे पनि दुई दलबीच छलफल भएको छ।
लामाले प्रदेश संसदीय दलको नेताको हैसियत गुमाइसके पनि मुख्यमन्त्रीबाट भने अझै राजीनामा दिएका छैनन्। बुधबार सम्पन्न निर्वाचनबाट कांग्रेसले सांसद इन्द्रबहादुर बानियाँलाई नयाँ दल नेता चयन गरेको थियो।



