विराटनगर | विराटनगरमा सम्पन्न कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कोशी प्रदेशले उपाधि हात पारेको छ। बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३-२ सेटले पराजित गर्यो।
रोमाञ्चक फाइनल खेलमा कोशीले पहिलो सेट २५-२३ ले र दोस्रो सेट २५-१८ ले जित्यो। सुदूरपश्चिमले तेस्रो र चौथो सेट २६-२४ ले आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक चरणमा पुर्याएको थियो। अन्तिम टाइब्रेकर सेटमा कोशीले १५-१३ को जितसँगै उपाधि आफ्नो नाममा गर्यो।
विजेता कोशी प्रदेशले ट्रफी, मेडल, प्रमाणपत्र र ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। उपविजेता सुदूरपश्चिम प्रदेशले ट्रफी, प्रमाणपत्र, मेडल र १ लाख ५० हजार रुपैयाँ हात पार्यो। तेस्रो स्थान हासिल गर्ने मधेश प्रदेशले ७५ हजार र चौथो स्थानमा रहेको बाग्मती प्रदेशले ५० हजार रुपैयाँ प्राप्त गरे।
कोशी प्रदेशका समाजिक विकास मन्त्री पाँचकर्ण राई र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेत लगायतले विजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे। यो प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सम्पन्न भएको थियो।