Thursday, March 20, 2025
खेल समाचारपुरस्कार माग्दै खेलाडी, पहल गर्ने मन्त्री महर्जनको आश्वासन

पुरस्कार माग्दै खेलाडी, पहल गर्ने मन्त्री महर्जनको आश्वासन

हेटौँडा | बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई खेलाडी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा घोषणा भएको पुरस्कार उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। बिहीबार हेटौंडा-६ स्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलाडी संघका केन्द्रीय सदस्य अजित गुरुङ नेतृत्वको समूहले मन्त्री महर्जनलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

गुरुङका अनुसार, २०७९ असोज २८ देखि कात्तिक ३ सम्म सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा भएको थियो। स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ दिने घोषणा गरिएको थियो। तर, दुई वर्ष बितिसक्दा पनि पुरस्कार प्राप्त नभएकोले खेलाडीहरूमा निराशा छाएको उनले बताए।

खेलाडी संघले आगामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै पुरस्कार वितरण गर्न माग गरेको छ। उक्त प्रतियोगितामा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी १४५ पदक जितेको थियो।

खेलाडीहरूको मागलाई सम्बोधन गर्दै मन्त्री महर्जनले खेलाडीहरूको हित र प्रोत्साहनमा आफू प्रतिबद्ध रहेको बताए। उनले पुरस्कार रकमका लागि प्रदेश सरकारसमक्ष दबाब बढाउने र मुख्यमन्त्री तथा अर्थमन्त्रीसँग निरन्तर छलफल गरिरहेको जानकारी दिए। मन्त्री महर्जनले मन्त्रालयबाट स्पष्ट कार्ययोजना सहित पुनः मुख्यमन्त्री र अर्थ मन्त्रालयमा पत्राचार गरेर पुरस्कार रकम निकासाको पहल गर्ने आश्वासन दिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img