हेटौँडा | बकैया गाउँपालिकामा पहिलोपटक स्वर्गीय नेत्रबहादुर राईको स्मृतिमा जिल्ला स्तरीय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । बकैया गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजनामा नेपाल कराँते महासंघ बकैया शाखाको सहकार्यमा तथा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश (गौरीटार, हेटौंडा) को समन्वयमा प्रतियोगिता भोली असार ११ गते बकैया गाउँपालिका–५ स्थित स्केड हलमा हुन् लागेको हो ।
प्रतियोगितामा पुरुष तथा महिला दुवै खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। तौल समूहहरू २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६० किलोमाथिका गरी वर्गीकृत गरिएको छ। साथै, खेलाडीहरूले एकल ‘काटा’ विधामा समेत आफ्नो सीप प्रदर्शन गर्नेछन्।
प्रतियोगिताबारे जानकारी दिँदै बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले स्थानीय युवायुवती र बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै कराँते खेलको विकास र विस्तारमा सहयोग पुर्याउने लक्ष्य प्रतियोगिताले लिएको बताए। उनले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सम्मान गरिनुका साथै विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिने जानकारी दिए।