मकवानपुरमकवानपुरगढी गाउँपालिकामकवानपुरगढी गाउँपालिकाले प्रस्तुत गर्यो ७४ करोडको बजेट

मकवानपुरगढी गाउँपालिकाले प्रस्तुत गर्यो ७४ करोडको बजेट

हेटौँडा | मकवानपुर जिल्लाको ऐतिहासिक गाउँपालिका मकवानपुरगढीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको केन्द्रमा रहेको कृषि क्षेत्रमा ‘एक वडा, एक उत्पादन’ अभियानलाई थप प्रभावकारी बनाउने योजना गाउँपालिकाले अघि सारेको छ। विभिन्न वडामा धान, कोदो, जुनेलो, तरकारी, गोलभेंडा, दूध, फलफूल, अदुवा, खुर्सानी र बेसारजस्ता स्थानीय उत्पादनहरूको बजारीकरणमा विशेष जोड दिने भनिएको छ। कृषकहरूका लागि जैविक खेती प्रवर्द्धन, थोपा सिँचाइ प्रणालीको विस्तार, माटो परीक्षण सुविधा, रासायनिक मलको प्रयोग घटाउने नीति र बाली बीमाको पहुँच विस्तारजस्ता कार्यक्रम पनि समावेश गरिएको छ। पशुपालनमा गोठ सुधार, पशु स्वास्थ्य सेवा, घाँस खेती र दूध उत्पादन प्रवर्द्धनसम्बन्धी योजनाहरू अघि सारिएका छन्, जसले गाउँको आयआर्जनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य बनाउने नीति लिएको छ। विद्यालयमा छात्रवृत्ति कार्यक्रम, शिक्षकको दक्षता अभिवृद्धि, पुस्तकालय तथा खेलकुद सामग्रीको विकास, साथै बालविकास केन्द्रको स्थापना गरी शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउने उद्देश्य लिएको छ। स्वास्थ्य क्षेत्रमा सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्दै स्वास्थ्य चौकीहरू सञ्चालन, निःशुल्क औषधि वितरण, प्रसूति सेवा र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ। गर्भवती महिलाहरूका लागि निःशुल्क प्रसवपूर्व जाँच र मातृ–शिशु स्वास्थ्यका क्षेत्रमा बजेट विनियोजन गरेर समावेशी स्वास्थ्य प्रणाली विकास गर्ने प्रयास देखिन्छ।

गाउँपालिकाले पर्यटकीय सम्भावनाहरूको संरक्षण र प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ। मकवानपुरगढी दरबार, ऋखेर गुफा, ढुङ्गेगढी, मनकामना मन्दिर जस्ता पर्यटकीय गन्तव्यहरूको भौतिक तथा प्रवर्द्धनात्मक विकासका लागि कार्यक्रम ल्याइनेछ। पर्यटनसँगै जोडिएका होमस्टे, स्थानीय उद्योग र साना तथा मझौला उद्यमहरूको प्रोत्साहनमार्फत रोजगारी सृजना गर्ने लक्ष्यसहित योजना बनाइएको छ। साथै, बालमैत्री नीति अन्तर्गत बालश्रम र बालविवाहको नियन्त्रणका लागि कडा कदम चाल्ने घोषणा गरिएको छ, जसले सामाजिक न्याय र मानव अधिकारका सवाललाई थप गहिराइमा समेटेको देखिन्छ।

गाउँपालिकाले चालु खर्चतर्फ ४१ करोड ७० लाख ६६ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ। चालु खर्चले सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनलाई गति दिनेछ भने पूँजीगत खर्चले भौतिक पूर्वाधार तथा दीर्घकालीन विकास निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। कुल बजेट अघिल्लो वर्षको तुलनामा १० करोड ४२ लाख ५ हजार रुपैयाँले बढाइएको छ, जसले विकासको गति तीव्र पार्ने संकेत दिन्छ।

बजेटका स्रोतहरूमा संघीय सरकारबाट ४३ करोड ६१ लाख रुपैयाँ, प्रदेश सरकारबाट ९ करोड ४ लाख ३ हजार रुपैयाँ अनुदान र आन्तरिक स्रोतबाट ४ करोड ७५ लाख रुपैयाँ संकलन हुने जनाइएको छ। गाउँपालिकाले आर्थिक विकासतर्फ ५ करोड ४५ लाख, पूर्वाधार विकासतर्फ १८ करोड ६० लाख, संस्थागत विकास सेवातर्फ १ करोड ३ लाख, सामाजिक विकासतर्फ ३८ करोड ६६ लाख ४९ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८१ लाख ३५ हजार र कार्यालय सञ्चालनतर्फ ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

गाउँपालिकाको उपप्रमुख पाख्रिनले  यो नीति तथा बजेटले स्थानीय जनताको आकांक्षा पूरा गर्ने र गाउँलाई समृद्ध बनाउने आधारशिला रहेको बताएकी छन्। उनले योजनाहरू कार्यान्वयनमा पारदर्शिता, जवाफदेही र सहभागितामा आधारित प्रक्रिया अपनाइने बताएकी छन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img