खेल समाचारनेपाल आज सिंगापुरसँग फाइनल भिडन्तमा

नेपाल आज सिंगापुरसँग फाइनल भिडन्तमा

काठमाडौं | मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि रक्षा गर्ने लक्ष्यसहित नेपाल आज सिंगापुरसँग भिड्दै छ। फाइनल खेल शनिबार बिहान ७:४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा सुरु हुनेछ।

साविक विजेता नेपाल प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै उच्च मनोबलका साथ फाइनलमा उत्रन लागेको हो। अर्कोतर्फ, पहिलो चरणमै नेपालसँग हार भोगेको सिंगापुर फाइनलमा बदला लिने योजनासहित मैदानमा आउनेछ।

नेपालले समूह चरणका सबै चार खेलमा एकतर्फी जीत निकालेको थियो। पहिलो खेलमै सिंगापुरलाई ६ विकेटले हराउँदै लयमा आएको नेपालले जापानलाई ९ विकेटले, इन्डोनेसियालाई ३७० रनले र भुटानलाई २९८ रनले पराजित गर्दै समूह विजेता बनेको थियो।

सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई सहजै ९ विकेटले पराजित गर्‍यो। टस जितेर पहिले बलिङ रोजेको नेपालले मलेसियालाई ९० रनमा समेट्दा सानदार प्रदर्शन गर्‍यो। ९१ रनको लक्ष्य नेपालले १४ ओभरमै एक विकेटको क्षतिमा भेटायो।

सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई चार विकेटले पराजित गर्दै नेपालसँगको भेट तय गरेको हो। समूह चरणमै नेपालसँग पराजित भएको सिंगापुर उपाधि जित्दै आफ्नो प्रदर्शन सुध्र्याउने लक्ष्यमा हुनेछ।

नेपाललाई जित्नका लागि बलिङ र ब्याटिङ दुवैमा उच्च स्तरको प्रदर्शन गर्नुपर्ने दबाब सिंगापुरमाथि छ।

नेपालका लागि अहिलेको टिम संयोजन र लय उत्साहजनक रहेको छ। सेमिफाइनलसम्मका खेलहरूमा बलिङ र ब्याटिङ दुवैमा नेपाली खेलाडीहरूले प्रभावशाली प्रदर्शन गरेका छन्।

आजको फाइनल जित्दै उपाधि रक्षा गर्ने लक्ष्य नेपाली टोलीको हुनेछ भने सिंगापुर बलियो चुनौतीका रूपमा प्रस्तुत हुने निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img