सुनसरी / ताप्लेजुङको बेँसी क्षेत्रहरूमा माघको दोस्रो सातादेखि पाथीभरा मन्दिर क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । समुद्र सतहदेखि ३ हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको छ ।
फागुनको दोस्रो सातादेखि पाथीभरा मन्दिर जाने पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिने हो । लालीगुराँसले पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन हुने गर्दछ । यस क्षेत्रमा लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासीको भनाइ छ ।
पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन व्यवसाय फस्टाउने आश रहेको पाथीभरादेवी नजिकैको होटल सञ्चालन बताउछन् ।
‘पर्यटक यहाँ गुराँससँग रमाउन गाडी नै ल्याएर आउने गरेका छन् । नयाँ वर्षको दिन पर्यटकको धेरै घुइँचो लाग्छ । ‘डाँडाभरि फुल्ने गुराँस हेरिरहुँ लाग्छ, यी निकै मनमोहक देखिन्छन् । ’पर्यटकीय क्षेत्रमा गुराँसमा झुम्मिनेहरू धेरै भेटिन्छन् । हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ । माघदेखि जेठसम्म गुराँस फुल्छ ।’
ढकमक्क फुलेको लालीगुराँस आँखै अगाडि देखिने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्न एकै पटक मिल्ने भएकाले अहिले तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको हो ।
प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याम सुरु भएकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न सकिने र नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।