काठमाडौं | हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडी र अरब सागरबाट आएको नमीयुक्त हावाले समेत आंशिक प्रभाव पारेको महाशाखाले जनाएको छ।
वर्तमान अवस्थामा कोशी, गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखिएको छ। देशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ। यस्तै, मधेससहित कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको छ।
रातिको समय पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
वर्षा, हावाहुरी र हिमपातका कारण जनजीवन, कृषि, स्वास्थ्य, यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज सूर्योदय बिहान ५:१३ बजे भएको थियो भने सूर्यास्त साँझ ६:४८ बजे हुनेछ।



